काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकले यतिबेला स्वास्थ्य र आर्थिक सङ्कट बेहोरिरहेको बताउनुभएको छ । उहाँले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

परराष्ट्र मन्त्री ज्ञवालीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको थियो । प्रवक्ता ज्ञवालीले असोज १ गतेबाट सार्वजनिक तथा आन्तरिक हवाई यातायात, होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी खुलेसँगै स्वास्थ्य जोखिम अझ बढ्न सक्नेतर्फ सचेत रहँदै भौतिक दूरी कायम र स्वास्थ्य सुरक्षा कडाइका साथ पालना गर्न गराउन आह्वान गर्नुभयो । उहाँले कोभिड–१९ सङ्क्रमणलाई हल्का रूपमा नलिन र हल्लाको पछि लागेर गम्भीर गल्ती नगर्नसमेत आग्रह गर्नुभयो ।

सरकारले लामो समयपछि आन्तरिक हवाई उडान तथा सार्वजनिक यातायात असोज १ गतेदेखि खोल्ने निर्णय गरेको छ । सरकारले गत चैत ११ गतेदेखि आन्तरिक हवाई उडानका साथै सार्वजनिक यातायातमा रोक लगाउँदै आएको थियो । प्रवक्ता ज्ञवालीका अनुसार हवाई तथा सार्वजनिक यातायात सञ्चालन गर्दा अनिवार्य रूपमा स्वास्थ्य सुरक्षाका मापदण्ड र भौतिक दूरी कायम राख्नुपर्ने छ ।

यसरी लामो, मध्यम तथा छोटो दूरीका यातायात सञ्चालन गर्दा साविक भाडादरमा ५० प्रतिशतसम्म थप शुल्क व्यवसायीले लिन सक्नेछन् । साविकको हवाई भाडादरमा थप भाडाका विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्धारण गर्ने जनाइएको छ । गोरखापत्र दैनिकबाट