काठमाडौँ । टाटा ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालि र एनआईसी एशिया बैंकबिच फाइनान्सिङ पार्टनर बनाउने समझदारी भएको छ । समझदारी पत्रमा कम्पनीको तर्फबाट भाइस प्रसिडेन्ट सौरभराज थपलिया र बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले हस्ताक्षर गरेका छन् । उक्त ब्राण्डका कार बिक्री गर्दा सिप्रदी ट्रेडिङले बैंकलाई फाइनान्सिङ पार्टनर बनाउने र बैंकले सिप्रदी ट्रेडिङ प्रालिका उपभोक्ताहरूलाई सवारी कर्जामा थप सहज प्रदान गर्नेसमझदारी पत्रमा उल्लेख छ । साथै बैंकको सुपर चमत्कारिक कर्जा योजना अन्तर्गतको सुपर चमत्कारिक सवारी कर्जामार्फत सिप्रदी ट्रेडिङद्वारा बिक्री गरिने टाटा ब्राण्डका कार खरिद गर्दा ग्राहक महानुभावहरूले ४ देखि ६ महिनाको किस्ता भुक्तानी गर्न नपर्ने सुविधा रहेको छ ।
यो सुविधा रातो प्लेटका निजी तथा व्यवसायिक प्रयोजनको लागि सवारी खरिद चाहनेहरुले लिन सक्ने छन् ।  

उक्त चमत्कारिक सवारी कर्जामार्फत ग्राहकहरूलाई आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्रै कर्जा प्रवाह गर्ने व्यवस्था गरेको बैंकले जनाएको छ । सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत अधिकतम रू. २ करोडसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरिद गर्न सकिने व्यवस्था छ । बैंकले रातो नम्बर प्लेटका निजी प्रयोजनको सवारीका लागि ५० प्रतिशत तथा व्यवसायिक प्रयोजनका रातो नम्बर प्लेटको सवारीका लागि ८० प्रतिशत कर्जा प्रवाह गर्ने समझदारी बैंक र सिप्रदी ट्रेडिङबीच समझदारी भएको हो ।

यो सुविधा सिप्रदी ट्रेडिङका देशभर रहेका सम्पूर्ण डिलरहरूबाट ग्राहकहरूले लिन सक्नेछन् । यस सँगै सवारी धितो राखेको हकमा ८ वर्षसम्म र सवारी तथा घरजग्गा दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ ।

बैंकको ‘सुपर चमत्कारिक सवारी कर्जा’ प्राप्त गरेपश्चात् पहिलो वर्षसम्म कर्जाको ब्याजदर परिवर्तन नहुने र यसको ग्यारेन्टीका निमित्त बैंक र ऋणीको बिचमा व्यवस्था हुने कर्जा प्रस्ताव पत्र र बैंकले ब्याजदर सम्बन्धी प्रतिबद्धता पत्रको व्यवस्था गर्नेछ  । एक वर्ष पश्चात् बैंकले ८.२५ प्रतिशत वा बेसरेट ८.२५ प्रतिशतभन्दा बढी भएमा बेसरेट बराबर नै यस कर्जाको ब्याजदर कायम गर्ने व्यवस्था गरेको छ ।

कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहक महानुभावहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले बैंकले ‘सवारी कर्जा सहायता डेस्क’ स्थापना गरेको जनाएको छ ।