रोल्पा । रोल्पामा पहिलो जनयुद्ध सङ्ग्रहालय स्थापना गरिएको छ। त्रिवेणी गाउँपालिका तिलाको मूल प्रवेशद्वारमा जनयुद्ध स्मृति राष्ट्रिय सङ्ग्रहालय स्थापना गरिएको हो।

जनयुद्ध शुरु भएको रोल्पामा भावी पुस्तालाई इतिहासको रूपमा चिनाउने उद्देश्यका साथ जनयुद्ध स्मृति राष्ट्रिय सङ्ग्रहालय स्थापना गरिएको बताइएको छ।मूल प्रवेशद्वारमा जनमुक्ति सेनाको तस्वीर कोरिएको छ। उक्त तस्वीरमा महिला जनमुक्ति सेनाले पिठ्युमा बच्चा, हातमा बन्दुकसहित पुरुष सेना सँगसँगै पहाडमा उकालो लाग्दै गरेको युद्धताकाको दुर्लभ तस्वीरलाई झल्काइएको छ।

सङ्ग्रहालयमा यस्ता आवरण देख्दा आफू युद्ध लडेको स्मरण भएको पूर्वजनमुक्ति सेना अग्रिम पुन बताउनुहुन्छ। “सङ्ग्रहालयबाट हामीले विगतमा गरेका कार्यको भावी सन्ततिले थाहा पाउनेछन्, हामीले युद्धबाट स्वर्णिम इतिहास रचेका छौँ”, पुनले भन्नुभयो।

यही व्यारेकमा बसेर सहायक कमान्डरका रुपमा काम गरेको बताउँदै इतिहास झल्कने खालका संरचनालाई बचाउन सबैको मद्दत हुनुपर्ने पुनले बताउनुभयो।

देशकै पहिलो जनयुद्ध सङ्ग्रहालय भएकाले यसको अवलोकनबाट धेरै कुरा सिक्न सकिने प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले बताउनुभयो। उहाँले भन्नुभयो, “सङ्ग्रहालयको अवलोकन गरेर मात्रै भए पनि युद्धकालीन सोधकार्य गर्न सकिन्छ।”

रातभरि मौषमी चन्दा उठाउन आम जनताले सहयोग गरेको स्मरण गर्दै सङ्ग्रहालय बन्दा आफूलाई आनन्द महसुस भएको केसीले बताउनुभयो।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष खेम बुढामगरले जनयुद्धकालीन झल्को दिने सामग्रीलाई नमूनाका रूपमा राख्नुपर्ने बताउनुभयो। उहाँले जनयुद्धकालीन सामग्रीलाई डेमोका रूपमा सङ्ग्रहालयमा राख्नुपर्ने सुझाव दिनुभयो। उहाँले भन्नुभयो, “तत्कालीन माओवादी सेनाहरु जुन रूपमा बसेका थिए त्यतिखेरको स्वरुप जस्तो थियो, त्यस्तै रूपमा राख्नुपर्छ।”

उक्त सङ्ग्रहालयभित्र जनमुक्ति सेनाको ब्यारेकका सम्पूर्ण भौतिक संरचनाअन्तर्गत बङ्कर, ड्युटीपोस्ट, पुराना डिजाइनका भवन देख्न सकिन्छ। सङ्ग्रहालय परिसरमा एक हजार ३०० मिटरको दृश्यावलोकन स्तम्भ निर्माण गर्ने योजना रहेको छ।

जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढामगरले युद्धकालीन संरचनाको संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले रोल्पामा यस्ता युद्धकालीन थुप्रै संरचना रहेका र स्थानीय सरकारले यस्ता संरचनाको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्न जरुरी रहेको बताउनुभयो।

प्रदेश सरकारको रु ५० लाख, निर्माण व्यवसायी समितिमार्फत खर्च गरिएको थियो भने सङ्घीय सरकारबाट प्राप्त भएको रु ४० लाख उपभोक्ता समितिमार्फत खर्च गरिएको समितिका अध्यक्ष अमर डाँगीले बताउनुभयो। लकडाउनका कारण उपभोक्ता समितिले केही रकम खर्च गर्न नसकेको डाँगीले बताउनुभयो।

सङ्घीय सरकार र प्रदेश सरकारको कूल रु ९० लाखमा उक्त सङग्रहालय तथा प्रवेशद्वार निर्माण गरिएको हो। प्यारामिटर एक हजार ३५० मिटर, गेट, घेराबार, जीर्ण अवस्थामा रहेका भवनको मर्मतलगायतका निमार्ण कार्य गरिएको छ।

त्यस क्षेत्रमा दृश्यावलोकन स्तम्भलगायत अन्य पर्यटन प्रवद्र्धनलाई टेवा पुग्ने खालका भौतिक संरचनासमेत निर्माण गरिने भएको छ ।

सङ्घीय सरकार र प्रदेश सरकारले डिभिजन वन कार्यालयमार्फत् आएको पर्यटन विकासतर्फको बजेटले उक्त भौतिक पूर्वाधार निर्माण गरिएको डिभिजन वन अधिकृत दडिलाल कँडेलले जानकारी दिनुभयो। तत्कालीन सेनासँगको लडाइँमा बिग्रेड सहकमान्डरका रूपमा रहेर अर्घाखाँचीको दहमा दोहोरो भिडन्तमा मारिएका ज्वारको नाममा व्यारेक राखिएको थियो।

विस्तृत शान्ति सम्झौतापछि विसं २०६३ मङ्सिर ५ गते पाँचौं डिभिजनअन्तर्गतका चार ब्रिगेडमध्येमा ज्वार स्मृति बिग्रेड तिलामा स्थापना गरिएको थियो। हाल झन्डै सात हेक्टर क्षेत्रफलमा उक्त सङ्ग्रहालय स्थापना गरिएको छ। हाल उक्त क्षेत्रको सुरक्षाका लागि सशस्त्र प्रहरी बेस क्याम्प राखिएको छ।

विसं २०५२ फागुन १ गतेदेखि रोल्पाबाट जनयुद्ध शुरु भएपछि सशस्त्र विद्रोहको समयमा जिल्लाका गाम, सुकीदह, हार्जङ, भावाङ, जेल्बाङ, थवाङ, कोर्चावाङलगायतका दर्जनौँ स्थानमा तत्कालीन माओवादी सेना र सरकारी सेनाबीच दोहोरो भिडन्त भएको थियो। यी ठाउँलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको जानकार बताउँछन्। युद्धकालीन समयमा रोल्पामा ९६९ जनाको मृत्यु भएको थियो भने ३३ जना बेपत्ता भएका थिए।