जनकपुर- प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा कोरोना संक्रमण पुष्टि भएको हो । साउन १८ गते काठमाडौँबाट फर्केर १९ गते परिक्षणका लागि स्वाब दिएका मन्त्रीको बुधबार बेलुका पोजिटिभ रिपोर्ट आएको हो ।

उनले आफूलाई कोरोना संक्रमण भएको बताएका छन् । मन्त्री निवासमै आइसोलेशनमा बसेका छन् । आफूमा कुनै प्रकारको लक्षण नदेखिएकाले घरमै आइसोलेशनमा बसेको उनले जानकारी दिए ।

उनले आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन पनि अपिल गरेका छन् ।

प्रदेश २ मा अहिलेसम्म ५ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २१ जनाको मृृत्यु भएको छ ।