काठमाडौं । २६ असार देखि नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग निरन्तर छलफल गरेका नेकपा महासचिव बिष्णु पौडेलले २७ असार दिउँसो स्थायी कमिटी सदस्य भीम रावलसँग तीन घण्टा गोप्य छलफल गरे । नेकपा नेता सोमनाथ पाण्डेको घरमा वरिष्ठ नेता नेपालसँग सम्वाद गरेका महासचिव पौडेलले रावलसँग सिंहदरवारमा छलफल गरेका थिए ।

नेपाल र रावलसँग छलफल गर्नुभन्दा पहिले पार्टी उपाध्यक्ष वामदेव गौतमसँग महासचिव पौडेलले लामो सम्वाद गरेका थिए । पछिल्ला तीन दिनयता उनले वरिष्ठ नेता नेपाल समुहका स्थायी कमिटी सदस्यहरुसँग दैनिक सम्वाद गरिरहेका छन् । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसँग पनि उनले दुई घण्टा छलफल गरेका थिए ।

प्रचण्डका विश्वास पात्र जनार्दन शर्मासँग महासचिव पौडेल निरन्तर सम्वादमा छन् । प्रधानमन्त्री निवास बालुवाटारदेखि घरसम्म पौडेल र शर्माबीच छलफल भइरहेको छ । तरपनि नेकपाको निकास निस्किन सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विस्वास मानिने महासचिव पौडेल । नेकपाभित्रको विवाद मिलाउन उनी यश अघि  सफल भएका थिए । तर यसपटक उनले कुनै पनि सुत्र भेटाउन सकेनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग सम्वाद गर्न नचाहेपछि ओली थप संकटमा फस्दै गएका थिए । ओली संकटमा फसेको देखेरै महासचिव पौडेलले नेपाल र उनी निकट नेताहरुसँग निरन्तर सम्वाद गरेका थिए । तरपनि परिणाम निकाल्न सकेनन् । विवाद जहाँको त्यही छ तर शुक्रवार स्थायी कमिटीको बैठक भने बोलाउने सहमति भएको छ ।

बामदेब गौतम निकट नेताका अनुसार अब कित्ता काट हुँदा पौडेलले ओलिको साथ छाड्ने छन र उनी महासचिव नै भएर बस्ने छन।