प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीलाई हटाउन सत्ताधारी नेकपाको बहुमत पंक्ति जोडबल गरिरहेको छ ।ओलीको सत्ता संकटको भुमरीमा परिसकेको उनकै अभिव्यक्ति र व्यवहारले पुष्टि गरिसेकेको छ । त्यसैले उनलाई विस्थापित गरेपछि त्यो कुर्सीमा को बस्ने भन्ने जोडघटाउ पनि भित्रभित्रै चलिरहेको छ । मोटामोटी समझदारी अनुसार, अबको प्रधानमन्त्री पुष्पकमल दाहाल हुनेछन् । उनी नेकपाको अध्यक्ष पनि भएकाले उनको यो दावी स्वाभाविक पनि छ । तर पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता माधव नेपाल पनि यसमा लालायित छन् ।खासगरी ओली र दाहालबीचको उग्र विवादमा नेपालले कतै सार्वजनिक अभिव्यक्ति दिएका छैनन् । उनले समन्वयकारी भूमिका र छवि देखाउन खोजेका छन् । ओली र दाहालको भीडन्त आफूमा आएर अवतरित हुने आकलन नेपाल र उनका शुभचिन्तकहरुको छ ।तर प्रधानमन्त्री ओलीले भित्रभित्रै अर्कै चाल चलिरहेका छन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग भित्रभित्रै साँटगाँठ चलिरहेको स्रोतले जनाएको छ ।खासगरी कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीच बुधबार मध्यरातिसम्म छलफल भएको बुझिएको छ । ओलीका दूतहरु बुढानीलकण्ठस्थित देउवा निवास गएर राति नै ओली र देउवाबीच कुरा गराएका थिए ।ओली र देउवाबीच भएको छलफलअनुसार, ओलीले आफ्नो सुरक्षाका लागि अब दल विभाजन सहज हुने गरी अध्यादेश ल्याउनेछन् । त्यसैका निम्ति वातावरण बनाउन उनले संसद अधिवेशन अन्त्य गरिसकेका छन् ।नेकपाको बहुमतले ओलीलाई हटाउने निश्चितप्रायः छ । तर अर्को प्रधानमन्त्री चयन नभएसम्म ओली कायमै रहनेछन् । उनले नेकपाका ४० प्रतिशत सांसद लिएर बेग्लै पार्टी गठन गर्न सके कांग्रेससँग गबन्धन सरकार बनाउन सक्नेछन् ।देउवाले पनि सत्ताको स्वाद नपाएको अढाई वर्ष भइसकेको छ । सत्ताको प्यासले छटपटिएका देउवा आफ्ना केही निकटस्थलाई मन्त्री मात्र बनाउन पाए पनि हुने निष्कर्षसहित ओलीलाई साथ दिने वचन दिएका छन् ।ओली पनि सत्ता जोगाउन जस्तोसुकै कदम चाल्नुपर्ने अवस्थामा पुगिसकेकाले देउवाको साथ पाउँदा राहतको अनुभव गरिरहेका छन् । ओली र देउवालाई एक ठाउँमा उभ्याउन अन्तर्राष्ट्रिय शक्तिनिकट पात्रले सहजीकरण गरिरहेको बुझिएको छ ।तर दक्षिणी शक्ति भने ओलीका निम्ति दाहिना हुने अवस्था छैन । बरु उनलाई भित्रभित्रै साथ दिने लोभ देखाएर भड्खालोमा हाल्ने योजनामा हिँडाइरहेको पनि हुन सक्ने कतिपयको विश्लेषण छ ।