काठमाडौं । नेपालमा शुक्रबार एकैदिन थप १७० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार योसँगै देशभर संक्रमितको संख्या एक हजार २१२ पुगेको छ ।

संक्रमित हुनेमा झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाटका २, कपिलवस्तुका ५१, रौटहटका ५६, सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जना रहेका प्रवक्ता डा.देवकोटाले बताए ।

देवकोटाका अनुसार संक्रमितमध्ये कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २७ जनामा कोरोना पोजेटिभ देखिएको छ। उनीहरु सबै झापाका पुरुष हुन्।धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ५ जना संक्रमितहरु थपिएका छन्। उनीहरुमध्ये सप्तरीका ४ जना पुरुष र झापा भद्रपुरका १ जना पुरुष छन्। विरगंजको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा कोरोना पुष्टि भएको छ। उनीहरुमध्ये बाराका ४ जना र पर्साका १ जना पुरुष छन्।

त्यस्तै ललितपुरको पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सर्लाहीका १ जना महिलामा कोरोना पोजेटिभ देखिएको छ। त्यस्तै गण्डकी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा म्याग्दीका १ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १० जनामा कोरोना पुष्टि भएको छ। उनीहरुमध्ये सबै बाँकेका पुरुषहरु हुन्। भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको छ। उनीहरुमध्ये कपिलवस्तुका ४ जना पुरुष र नवलपरासीका २ जना पुरुष छन्।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ८४ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ।उनीहरुमध्ये कपिलवस्तुका २३ जना पुरुषहरु रहेका छन् भने रौतहटका ५६ जना (२ बालिका र ५४ पुरुष) हुन्। भने सर्लाहीका ४ जना (३ पुरुष, १ महिला) हुन् ।

त्यस्तै रुपन्देहीको प्रादेशिक प्रयोगशालमा गरिएको परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको छ। उनीहरुमध्ये कपिलवस्तुका १५ जना पुरुष र रुपन्देहीका १ पुरुष छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनाको पोजेटिभ आएको छ। उनीहरुमध्ये दाङका २ जना पुरुष, कपिलवस्तुका ९ जना पुरुषहरु रहेका छन्।

संक्रमितमध्ये हालसम्म २०६ जना निको भएर घर फर्किइसकेका छन् । पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका हुन् । मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ५ हजार ४ सय ७८ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ६४ हजार १ सय ४४ परीक्षणहरु गरिएका छन् ।

शुक्रबारको अपडेटमा क्‍वारेन्टाइनमा ९९ हजार ३ सय ३६ जना रहेका छन् । हालसम्म आइसोलेसनमा देशभरी १ हजार जना रहेका छन् ।