काठमाडौँ । बहराइनमा थप ८६ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ३३१ पुगेको छ ।

यसअघि कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या २४५ रहेकोमा थप ८६ जना थपिएसँगै सङ्क्रमितको सङ्ख्या ३३१ पुगेको हो ।बहराइनस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार बहराइनमा तीन हजार ९७३ जनामा कोरोना सङ्क्रमित भएका छन् ।

बहराइनमा कोरोनाको कारण १२ जनाले ज्यान गुमाएका छन् भने तीन जना गम्भीर अवस्थामा रहेको दूतावासले बताएको छ । सङ्क्रमणबाट निको भई २७ सय ६२ डिस्चार्ज भएका छन् । बहराइनमा रहेका नेपालीलाई अनलाइनमार्फत आफनो विवरण भर्न दूतावासले आग्रह गरेको छ । बहराइनले ७ अप्रिल २०२० बाट लागु हुनेगरी बहराइनमा अवैधानिक रुपमा बिना कागजात कार्यरत कामदारका लागि वैधानिक हुन वा बहराइन छोड्न ३१ डिसेम्बरसम्म माफी दिने निर्णय गरेको छ ।

कोरोनाको शंका लागेमा बहराइनमा तोकिएका ९ वटा अस्पतालमा गएर जाँच गराउन सकिन्छ । कोरोना वा कुनै कारणले समस्या भएमा सम्पर्क गर्न त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध पनि गरेको छ ।