काठमाडौं । नेपालमा थप ९ जनाको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठान र भेरी अस्पतालमा गरिएको परिक्षणमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये पर्साका ४, दाङका ३  उदयपुर र काठमाडौंका एक/एक जना छन्।

काठमाडौं सतुंगलका ७ वर्षीय बालक, वीरगञ्जका ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीले बताए । उनका अनुसार दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । दाङमा पहिलो पटक संक्रमित भेटिएका हुन् ।

यसैगरी उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २६७ पुगेको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै मन्त्रालयले सबैजना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाएको छ।