काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेको छ ।

सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र फिर्ता ल्याउन कूटनीतिक पहल गरिने बताइन्। ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमि हो। यो भूमि फिर्ता ल्याउन ठोस कूटनीतिक पहल गरिनेछ,’ राष्ट्रपति भण्डारीले भनिन्,‘ लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरिनेछ।’

सीमा व्यवस्थापन गर्न थप बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्ने समेत उनले बताइन् ।सरकारी अधिकारीहरुका अनुसार नेपालको हालको नक्सामा लिम्पियाधुरासहित केही क्षेत्र समावेश छैन । संसदीय समितिहरुले छुटेको क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्न निर्देशन दिएपनि अहिलेसम्म कार्यान्वयन भएको छैन ।

पछिल्लो समय भारतीय पक्षले कालापानी क्षेत्रको नेपाली भूमिमा सडक बनाएपछि नेपालमा चर्को विरोध समेत भइरहेको छ।