काठमाडौं । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्रको विवाद सुल्झिनेभन्दा बल्झिनेतिर गएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक टारेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको हो । प्रधानमन्त्री ओली जसरी पनि स्थायी कमिटी बैठक टार्ने पक्षमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समुह जसरी पनि स्थायी कमिटी बैठक बोलाउने पक्षमा छ ।

दुई समुहबीचाको यही रस्साकसीकाबीच नेकपा सचिवालय बैठक अनिर्णयको बन्दी बनेको छ । एजेण्डा नै तय गर्न सचिवालयले तय गर्न नसकेका बेला २० स्थायी कमिटीका सदस्यहरुले बैठकमा एजेण्डा तय गरेका छन् । पार्टी मुख्यालय धुम्वाराहीमा बसेको २० स्थायी कमिटीका सदस्यहरुको बैठकले काण्डै काण्डलाई बैठकका एजेण्डा बनाएका छन् ।

वर्तमान सरकार काण्डैकाण्डले अलोकप्रिय बनेको निस्कर्ष निकाल्दै स्थायी कमिटीका सदस्यहरुले तिनै काण्डहरुलाई बैठकका एजेण्डा बनाएका छन् । यती समूहलाई गोकर्ण फरेस्ट रिसोर्ट लिजमा दिने (यति काण्ड) एनसेल, वाइडबडी विमान खरिद काण्ड, सेक्युरिटी प्रेस खरिदमा तत्कालिन सञ्चारमन्त्रीबाट कमिसन माग गरिएको टेप प्रकरण, स्वास्थ्य सामग्री खरिद प्रक्रियामा ओम्नी समूहसँगको भएको साँठगाँठ, सांसद अपहरण काण्डलाई स्थायी समितिका सदस्यहरुले आफ्ना एजेण्डा बनाएका छन् । स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीसँग जवाफ माग्ने उनीहरुले निर्णय गरेको स्थायी कमिटी सदस्य जनार्दन शर्माले बताए ।

वर्तमान सरकार भ्रष्टाचारका कारण बद्नाम भएको निस्कर्ष उनीहरुले निकालेका छन् । भ्रष्टाचारीलाई संरक्षण गर्ने काम पनि प्रधानमन्त्रीबाट भएको भन्दै उनीहरुले त्यसको जवाफ माग्ने निर्णय गरेका छन् । भ्रष्टाचारको आरोप लागेपछि स्वतन्त्र छानविन गराउनुको सट्टा, आफैले भ्रष्टाचार लुकाउने गरेको र अख्तियार प्रमुखलाई प्रभावमा पारेको ठहर स्थायी कमिटीका सदस्यहरुले गरेका छन् ।