झापाको भद्रपुर नगरपालिका–५ स्थित नयाँबस्तीका विपन्न परिवारलाई अहिले बिहानबेलुकाको छाक टार्न धौधौ पर्न थालेको छ । कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी घोषणा गरेपछि कामविहीन भएसँगै उनीहरुको दैनिकी अहिले कष्टकर बन्दै गएको हो । यहाँ करीब ३५ परिवारको बसोबास छ । उनीहरु सबैको आम्दानीको स्रोत ज्याला–मजदुरी हो ।

‘लकडाउन भएको केही दिन त घरमा भएको पैसाले खाइयो’, उनीहरु भन्छन्, ‘बाहिर निस्किन मिल्दैन, काम नभएपछि के गरी खानू, दिनरात चिन्ता यही कुराको छ ।’ अन्य गाउँपालिका र नगरपालिकाको तुलनामा नयाँबस्तीबासीले थोरै राहत सामग्री पाएका छन् । लकडाउन घोषणा भएको आज २४ दिनका अवधिमा उनीहरुले पाँच केजी चामल, एकएक केजी दाल र नून, आधा लिटर तेल र एउटा साबुन मात्र पाएका हुन् ।

‘चार/सात जनाको परिवारलाई पाँच केजी चामलले के हुन्छ ?’, स्थानीयवासी पूर्णिमा शर्मा भन्नुहुन्छ, ‘राहत त पाइयो तर… ।’ यहाँका बासिन्दाले भने लकडाउनको पूर्णपालना गरिरहेको उहाँ बताउनुहुन्छ । जरुरी कामबाहेक कोही घरबाट ननिस्कने गरेको र काम पर्दा मात्र जाने गरेको उहाँले बताउनुभयो ।

भद्रपुर ५ नम्बर वडाध्यक्ष बन्धु कार्कीले पहिलो चरणमा राहत वितरणका लागि वडामा एक हजार १२० विपन्न परिवारको नाम संकलन गरिएको बताउनुभयो । ‘त्यसमा अलिक पछि राहत दिँदा हुने छनोट गरेर ८३० जनाको नामावली तयार ग¥यौँ’, वडाध्यक्ष कार्कीले भन्नभुयो, ‘नगरपालिकाले जम्मा २०० जनाका लागि मात्र राहत पठायो ।’ पहिलो चरणमा नगरपालिकाले १० केजी चामल, एकएक केजी दाल र नून, एक लिटर तेल र एउटा साबुन दिने निर्णय गरेर राहत पठाएको उहाँ बताउनुहुन्छ । ‘८३० जनाको नाम छ, आयो २०० जनाका लागि’, उहाँले भन्नुभयो, ‘उक्त परिमाणलाई आधा बनाएर चार सय जनालाई वितरण ग¥यौँ ।’

जनप्रतिनिधि र स्थानीय संघसंस्थाको सहयोगमा हालसम्म ७९९ परिवारलाई राहत वितरण गरिएको उहाँको भनाइ छ । स्थानीय बलभद्र युवा क्लबको सहयोगमा थप ६० परिवारलाई भर्खरै राहत दिइएको वडाध्यक्ष कार्कीको भनाइ छ । ‘जनताले विश्वास गरेर मत दिएका छन्’, उहाँले भन्नुभयो, ‘अहिले समस्या परेका बेला सहयोग गर्न सकिएन भने त्यसको अर्थ रहँदैन, सकेसम्म वडाबासीलाई राहत दिन्छु ।’
छिमेकी वडा न ं ८ नम्बरले पहिलो चरणमा २७० परिवारलाई राहत दिएको छ । प्रतिपरिवार सात केजी चामल, दाल, नून एकएक केजी, एक लि तेल र एउटा साबुन दिइएको वडाध्यक्ष गौरव सुब्बाले जानकारी दिनुभयो ।

यसैबीच भद्रपुर नगरपालिकासँग सीमा जोडिएको मेचीनगरले रू ५० लाख, बिर्तामोडले रू ५० लाख र कचनवल गाउँपालिकाले रू ३० लाखको कोरोना नियन्त्रण, रोकथाम तथा राहत कोष बनाएका छन् भने भद्रपुरले चाहिँ रू १५ लाखको मात्र कोष स्थापना गरेको छ ।

न्यून रकमको कोष निर्माण गरिएकाले पनि भद्रपुरमा दाताको मुख ताक्नुपर्ने अवस्था रहेको स्वयम् जनप्रतिनिधि स्वीकार्छन् । ‘भौतिक पूर्वाधार विकासभन्दा पनि जनताको जीवन रक्षा अहिलेको मुख्य विषय हो’, वडाध्यक्ष कार्की भन्नुहुन्छ, ‘तर कोषमा रकम वृद्धि गर्न नगरको ध्यान गएको छैन ।’रासस