काठमाडौँ उपत्यकाका टेकु र पाटन अस्पताल मात्रै होइन यतिवेला महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा पनि कोरोना शंक्रमणको आशंकामा ९ जना बच्चाहरु उपचाररत छन् । १५ महिना देखी १३ बर्ष उमेर समूहका ती बच्चाहरुमा २ जना भारतीय छन् । अहिले उनीहरुलाई अस्पतालले आइसोलेसनको रुपमा बनाएको क्याविनमा राखिएको छ ।

अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलका अनुसार ती बालबालिकाहरुलाई ‘ट्राभल हिस्ट्री’ र लक्षणका आधारमा कोरोना आशंका गरी आइसोलेसनमा राखिएको हो ।

‘सबैभन्दा कम उमेर भनेको १५ महिनाको बच्चा छ । दुबईबाट आएको फर्केको नेपाल परिवारको । अर्को १८ महिना र ११ बर्षको गरी दाजु बहिनी छन् । जो भारत हरियाणाबाट घुम्न आएको परिवारका सन्तान हुन् । अरु यतैका छन्,’ डा पौडेलले भने ।

उनले शंकास्पद ९ जनाकै थ्रोट स्वाव संकलन गरी कोरोना भाइरस परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको र त्यसमा एक जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । बाँकी ८ जनाको भने रिपोर्ट आउन बाँकी रहेको छ ।