निजी अस्पतालहरूले कोरोना भाइरसका शंकास्पद बिरामीलाई अस्पतालमै राखेर उपचार गर्न नसक्ने जनाएका छन्।

निजी अस्पतालहरूको छाता संगठन ‘अफिन’ का वरिष्ठ उपाध्यक्ष कुमार थापाले सुरक्षा सामग्री अभावले कोरोनाका बिरामीलाई उपचार सेवा दिन नसकिने स्पष्टीकरण यसअघि नै दिइसकेका छन्।

सरकारले निजी अस्पतालहरूलाई छुट्टै फिबर क्लिनिक र आइसोलेसन बेड तयार गर्न निर्देशन दिएको छ। यस्तोमा निजी अस्पतालले उपचार नै गर्न नसकिने बताइरहेका छन्।

‘अस्पतालहरूसँग सुरक्षा सामाग्री छैन, परीक्षण गर्नलाई किट छैन। यस्तो अवस्थामा कोरोना शंकास्पद बिरामीलाई उपचार गर्न सम्भव छैन,’ उनले भने।

पाले आफू सञ्‍चालक रहेको अल्का अस्पतालमा पनि फिवर क्लिनिक रहेको तर आइसोलेसन बेड नभएकाले उपचारमा समस्या हुने बताएका छन्।

उनका अनुसार स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इक्‍विपमेन्ट (पीपीई) समेत नहुँदा उपचारमा समस्या हुन्छ। थापाले परीक्षणमा पठाउने किट पनि नभएकाले कोरोनाका बिरामीलाई सेवा दिन नसकिने स्पष्टीकरण दिएका हुन्। उता स्वास्थ्य मन्त्रालयले कोरोना बिरामीको उपचार नगर्ने अस्पताललाई कारवाहीको तयारीमा गरेको बुझीएको छ।