कोरोना आंशका गरी परीक्षणका लागि पठाइएका थप ५० जनाको रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य कार्यालयका अनुसार शनिबार र आइतबार परीक्षण गरिएका थप ५० जनाको रिपोर्ट सोमबार बेलुका सार्वजनिक गरिएको थियो र त्यो सबै नेगेटिभ आएको छ ।

गत शुक्रबार परीक्षण गरिएको एक जनाको भने रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको थियो ।

मंगलबार विहान नेपाली हेल्थसंग कुरा गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले शनिबार र आइतबार परीक्षणमा हालिएका ५० वटा स्याम्पलको रिपोर्ट नेगेटिभ आएको बताए ।

पोजेटिभ देखिएको किशोरीको परिवारको सदस्यको पनि जाँच हुँदै 
यसैबीच राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आइतबार पोजेटिभ देखिएको किशोरीको परिवारको थ्रोट स्वाव संकलन गरी परीक्षण कार्य अघि बढाएको जनाएको छ । ‘अहिलेसम्म उनको सम्पर्कमा आएका परिवारका ४ ५ जना सदस्यहरुको स्याम्पल आएको छ । हामीले परीक्षण सुरु गरेका छौँ । उहाँको सम्पर्कमा आएका अरुको पनि खोजी भइरहेको छ सायद उहाँहरुको पनि परीक्षण हुनेछ,’ गुप्ताले भने ।

थप ६० जनाको परीक्षण हुँदै
प्रयोगशालामा सोमबार बेलुकाबाट थप ६० जनाको परीक्षण शुरु भएको छ । यसको रिपोर्ट मंगलबार राती वा बुधबार विहानसम्म आइपुग्ने प्रयोगशालाले जनाएको छ ।