काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण काठमाडौंमा पनि भेटिएको छ । टेकु अस्पतालमा एक जना नेपालीमा भाइरस संक्रमणको पोजिटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका हुन्।

सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ती बिरामीको अहिले टेकु अस्पतालमा उपचार भइरहेको जानकारी दिए। कोरोना भाइरसको संक्रमण आइतबार साँझ पुष्टि भएको मन्त्री ढकालले बताए । । ‘हिजो बेलुका आएको रिपोर्टमा फ्रान्सबाट आएका एकजनामा कोरोना पोजिटिभ देखियो’, मन्त्री ढकालले भने ।

४ गते कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएका थिए । त्यसबेला उनीमा कोरोनाको कुनै लक्षण देखिएको थिएन र होम क्वारेन्टाइनमा बसेका थिए । हिजो परीक्षणका क्रममा कोरोना संक्रमण भएको पुष्टि भएको छ । १९ वर्षका उनको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

उनीसँग भेटघाट गरेका सबै व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको पनि मन्त्री ढकालले जानकारी दिए। उनी होम क्वारेन्टाइनमा रहँदा उनले भेटेका सबैलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने पनि मन्त्री ढकालले जानकारी दिए। संक्रमितत व्यक्ति १९ वर्षीया युवती रहेको र उपचारका लागि अस्पताल लगिएको पनि उनले बताए।

नेपालमा कोरोना भाइरसको पुष्टि भएको यो दोस्रो केस हो। महिना दिनअघि चीनको वुहानबाट फर्किएका एक नेपालीलाई पनि कोरोना देखिएको थियो। अहिले उनी उपचारपछि निको भएर घर फर्किएका छन्।

सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै अन्तर्राष्ट्रिय नाका बन्द गराएको छ भने अन्तर्राष्ट्रिय उडानसमेत बन्द गरेको छ । आजैबाट लामो दुरीका सार्वजनिक यातायातमा पनि रोक लगाइएको छ ।