समुद्ध सतहदेखि खरिव ४ हजार २ सय १९ मिटरको उचाईमा रहेको पर्यटकीय थलो त्रिवेणी पाटनमा अझै पनि पूर्वाधार निमार्णहुन सकेका छैनन् । धार्मिक रुपमा बडिमालिका जाने बाटो समेत त्रिवेणी पाटन हुर्दै भएकाले पनि साउन शुक्ल पूर्णिमाका दिनबाहेक अन्य दिन त्रिवेणी पाटन सुनसान देखिने गरेको छ । त्रिवेणी पाटन जानका लागि सडक, खानेपानी र बासस्थानको राम्रो व्यवस्था नहुँदा पर्यटक नआउने गरेको सान्नित्रिवेणी गाउँपालिका वडा नं ८ का स्थानीय मनराज सिम्खडाले बताए । उनले भने, ‘४२१९ मिटर उचाइमा रहेको त्रिवेणी पाटन आफैँमा प्राकृतिक मनोरम दृश्य बोकेको स्थल हो ।’


त्रिवेणीको प्रचार प्रसार र भौतिक पूर्वाधार निमार्ण हुन नसक्दा ओझेलमा परेको छ । त्रिवेणी पाटनलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न मुम्रा छापे हुर्दै त्रिवेणी सम्मको गोरेटो बाटो, मुम्रामा होमस्टे, छापेमा धर्मशाला निमार्ण लगायतका योजना स्थानीय स्तरबाट अघि सारिएको भए पनि पूर्वाधारको लागि सरकारी ध्यान नहँुदा काम हुन नसकेको स्थानीय नमराज बुढाको भनाइ छ । यो ठाउँमा पर्यटकीय पूर्वाधार विकास हँुदा स्थानीयको रोजगारसँगै गरिबी निवारणमा सहयोग पुग्ने अपेक्षाले आफूहरुले स्थानीय स्तरमा नयाँ कार्यक्रम बनाएर सरकारी निकाएमा पेश गरेको भएपनि त्रिवेणीको विकासका लागि चासो नदेखाएको उनको आरोप छ । त्रिवेणीको विकासले कालीकोटको सुन्दरता थप्ने छ । स्थानीय निकाय र केन्द्रीय स्तरबाट यो ठाउँको विकासमा ध्यान दिँदा साविकका ४ वटा गाविस हालका नरहरिनाथ र सान्निवित्रेणीका स्थानीय बासिन्दाको आयस्तर बढ्नेछ । एकातिर ठाउँको चिनारी अकोतिर रोजगारीको सिर्जना हुने भएकाले यसको विकास अपरिहार्य रहेको स्थानीय बिर केसी (हिमशिखर)ले बताए ।
त्रिवेणी पाटन जादा सान्नित्रिवेणीमा रहेका पर्यटकीय स्थल, पाण्डव गुफा, मेहल्ने छहरा, तिसुली ढुङगा, पञ्चदेवल लगायतका पर्यटकीय क्षेत्रको अवलोकन समेत गर्न सकिन्छ । कर्णाली राजमार्गको जितेदेखि गाडीमा करिव ३६ किलोमिटर यात्रा गरेर ६ घन्टा ठाडो उकालो चढेपछि त्रिवेणी पाटन पुग्न सकिन्छ । कालीकोटमा सामाजिक–साँस्कृतिक पर्यटन, धार्मिक पर्यटन, कृषि पर्यटन, प्राकृतिक मनोरञ्जनका दृष्टिकोणले पनि त्यतिकै महत्वपूर्ण मानिन्छ तर यति धेरै सम्भावनहरू भएर पनि त्रिवेणीपाटन विकासको पर्खाइमा रहेको छ । त्रिवेणी पाटन विकासमा पछि पर्नुको कारण भने स्थानीय आफै जागरुप नहुनु र राज्य उदासिन रहनु हो ।
सान्नित्रिवेणी गाउँपालिकालाई पर्यटकीयक्षेत्रका रुपमा विकास गर्नका लागि स्थानीय सरकारले तदारुकता देखाएको सान्नित्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । उनले भने, ‘त्रिवेणी पाटनको विकासका लागि त्रिवेणीसम्म मोटरबाटो निमार्णका लागि अहिले प्रदेश सरकारले २ करोड रकम दिएको छ ।’ यो वर्ष मोटरबाटो निमार्ण र आगामि २ वर्षभित्र यहाँको प्रचार प्रसार गरि आवश्यक पुर्वाधार निमार्ण गरि त्रिवेणी पाटनलाई कर्णालीकै मुख्य पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नेर्छौ ।