काठमाडौं । अन्धकार नेपाललाई लोडसेडिङ मुक्त गरेर निकै चर्चा कमाएका नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित सञ्चालक समितिका पूर्व पदाधिकारीमाथी ९ अर्ब घोटाला काण्ड बल्झिएको छ । डेडिकेटेड फिडर र ट्रंक लिंकमा ९ अर्ब घोटाला भएको ठहर गर्दै संसदको सार्वजनिक लेखा समितिले अन्तर्गत गठित उपसमितिले कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ । विद्य‌ुत प्राधिकरणका वर्तमान र पूर्व सञ्चालक समितिका पदाधिकारी र कार्यकारी निर्देशक घिसिङविरुद्ध मुद्दा चलाउन समितिले आग्रह गरेको छ ।

उपसमितिले डेडिकेटेड फिडर र ट्रंक लिंकमा अनियमितता भएको ठहर गर्दै प्रतिवेदन तयार गरेको छ । प्रतिवेदनमा प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक घिसिङ र पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेसहितका पदाधिकारीले ९ अर्ब घोटला गरेको ठहर गरेको छ । उपसमितिको प्रतिवेदनमा ९ अर्ब घोटालाका अभियुक्तमाथी कारवाहीको निर्देशनका दिन सिफारिस गरिएको छ ।

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालको संयोजकत्वमा गठित पाँच सदस्यीय छानविन उपसमितिले कुलमानलाई पनि दोषि ठहर गरेको छ । समितिको सदस्यमा तेजुलाल चौधरी, प्रदीप यादव, पार्वतीकुमारी विशुंखे र सूर्य पाठक रहेका छन् । उपसमितिले डेडिकेटेड फिडर र ट्रंक लिंकमा भएको अनियमतिमताको प्रतिवेदन लेखा समितिमा बुझाउने तयारी गरेको छ ।

साउनमा गठित उपसमितिले कुलमानलाई चार पटक बयानमा बोलाएको थियो भने अन्य सदस्यहरुको बयान लिएको थियो । -सवै तथ्य र प्रमाणका आधारमा ९ अर्ब घोटाला भएको निस्कर्षमा हामी पुगेका छौ, -समितिका एक सदस्यले भने -प्रतिवेदन तयार भइसकेको छ, लेखा समितिमा बुझाउने तयारीमा छौ । कुलमानले समितिलाई झुट बोलेर झुक्याउन खोजेको आरोप पनि समितिका सदस्यहरुले लगाएका छन् ।

नेपालमा चरम लोडसेडिङ रहेको बेला २०७२ सालमा उद्योगीहरुको आग्रहमा प्राधिकरणले नियमित शुल्कमा थप ६० प्रतिशत शुल्क तिर्ने गरी २० घण्टाभन्दा बढी बिजुली उपभोग गरेका थिए । उद्योगहरुले नियमति शुल्क तिरे पनि अतिरिक्त शुल्क बापतको रकम प्राधिकरणकै मिलेमतोमा नतिरेको देखिएको संसदीय उपसमितिको अध्ययनबाट देखिएको छ । बयानमा कुलमानले बक्यौता रकम उठाउने प्रतिवद्धता भने जनाएको उपसमितिका एक सदस्यले भने । प्राधिकरणकले चैत २८ गते २०७२ भदौदेखि ७५ चैतसम्मको छुट भएको विद्य‌ुत महसुल बिल बापतको रकम बुझाउन दुई सय ५० भन्दा बढी उद्योगलाई ९ अर्बभन्दा बढीको बिल बुझाएको थियो।