"> दरबन्दी शिक्षक परिपूर्तिका लागि ‘शिक्षण स्वयमसेवक परिचालन कार्यविधी’ जारी – www.agnijwala.com

दरबन्दी शिक्षक परिपूर्तिका लागि ‘शिक्षण स्वयमसेवक परिचालन कार्यविधी’ जारी

राधिका पान्डे
काठमाडौँ । विषय शिक्षक अपुग भएको विद्यालयमा शिक्षक दरबन्दी परिपूर्ति गर्नको लागि शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले ‘शिक्षण स्वयम्सेवक परिचालन कार्यविधी २०७६’ जारी गरेको छ । मन्त्रालयले ‘चिनौ आफ्नो माटो, बनाऔँ आफ्नो देश’ अभियान अन्तर्गत सो कार्यविधी जारी गरेको हो ।

शिक्षक विद्यार्थी अनुपात धेरै भएका, प्रचलित कानुन तथा मापदण्ड बमोजिम अंग्रेजी, विज्ञान र गणित विषय शिक्षक अपुग भएका सामुदायिक तथा प्राविधिक धारका विद्यालयमा शिक्षक दरवन्दी परिपूर्ति गर्नको लागि सो कार्यविधी कार्यान्वयनमा ल्याउन लागिएको हो ।

कायविधी अनुसार स्नातक तह तथा स्नातकोत्तर तह उत्तीर्ण गरेका जनशक्तिलाई स्वयम सेवक शिक्षक रुपमा सहभागी गराउन सकिनेछ । सोका लागि केन्दीयस्तरमा एक शिक्षण स्वयम् सेवक समन्वय तथा परिचालन समितिको गठन गरिनेछ । सो शिक्षकले आफू नियुक्ति भएको विद्यालयले तोकेको समयमा एक शैक्षिक सत्रसम्म सेवा दिन पाईने कार्यविधीमा उल्लेख गरिएको छ । सेवा गरेवापत स्थानीय तहले मासिक निर्वाह भत्ताको व्यवस्था गरिदिने छ ।

परिचालन समितिमा शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयका सचिवको संयोजकत्वमा विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव, अर्थ मन्त्रालयका सह सचिव, संघीय मामिला तथा प्रसाशन मन्त्रालय, राष्ट्रिय योजना आयोग अन्तर्गत शिक्षा शाखा, विद्यालय शिक्षा महाशाखाका सहसचिवहरुको सदस्यतामा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक सदस्य सचिव पदमा रहने व्यवस्था गरिएको छ ।

कार्यविधीमा संघीय सरकारको कस्ता खालको भूमिका रहला ?
कार्यविधी अनुसार केन्दीय सरकारले स्वयम् सेवक शिक्षकको लागि वार्षिक कार्यक्रम समितिबाट स्वीकृत गराइने छ । सो स्वीकृतीको आधारमा चैतको १५ गते सम्म स्थानीय तहगत रुपमा आवश्यक स्वयम् सेवक शिक्षकको संख्यामा निर्धारण गरिनेछ । बैशाख मसान्तसम्म स्थानीय तहलाई आवश्यक बजेट वितरण गरिनेछ ।

प्रदेश सरकारले स्थानीय तह र विद्यालयमा केन्द्र तहबाट प्राप्त भएका विषयगत स्वयम् सेवकको सूची उपलब्ध गराइने छ । स्वयम सेवक परिचालत तथा कार्यसम्पादनको अनुगमन गरी केन्द्र तहलाई प्रतिवेदन दिइने छ । साथै स्थानीय तहबाट माग भएका स्वयम् सेवकको संख्याको आवश्यकतालाई पुष्टि गरी केन्द्रमा पठाउने छ ।

कार्यविधी अनुसार स्थानीय तहले स्वयम् सेवकको लागि नियुक्ती भएका जनशक्तिलाई योग्यताको आधारमा विद्यालयमा पठाइने छ । स्वयम् सेवक शिक्षकको कार्यसम्पादनको नियमित अनुगमन गर्नुका साथै उनीहरुको विवरण अध्यावधिक गरी स्थानीय तहले राख्ने सक्ने क्षेत्राधिकार रहेको छ । सेवा गरेवापत शिक्षकलाई जेठ महिना भित्र एक मुष्ट रकम निर्वाह भत्ता वापत दिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

..........................स्वच्छ, निष्पक्ष र मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज विहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको विचार,भावना र कुरालाई पत्रकारिता मार्फत बाहिर ल्याउने यस अनिज्वाला डट कमको उदेश्य हो ।