काठमाडौं । जनगुनासो देखि नेकपा केन्द्रीय समितिको बैठकमा यति समुह र सरकारको सम्बन्धलाई लिएर चर्काे विरोध भएपछि सरकारले श्वेतपत्र सार्वजनिक गर्न लागेको छ । यति समुहकै कारण वर्तमान सरकार निकै आलोचित बनेको छ भने प्रधानमन्त्री केपी शर्मा ओली विपक्ष र आफ्नै पार्टीको निशानामा परेका छन् । यति समुहका बिषयमा स्पष्ट बनाउन उपप्रधानमन्त्री पोखरेलले मंगलबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी श्वेतपत्र सार्वजनिक गर्न लागेका छन् ।

लिज अवधि सकिनुअगावै यति होल्डिङलाई २५ वर्षका लागि गोकर्ण रिसोर्ट दिने सरकारी निर्णय निकै आलोचित भयो । यसका जवाफ दिन प्रधानमन्त्री ओलीलाई पार्टीभित्र र बाहिर निकै सकस परेको छ । जवाफ दिन सकस परेका बेला स्वेतपत्र जारी गर्न लागिएको हो ।

स्वेतपत्रमा गोकर्ण रिसोर्ट र दरबारमार्ग र ताहाचलको सरकारी जमिन लिजमा दिने बिषय समावेश गरिएको छ । गोकर्ण रिसोर्टको लिज नवीकरण गर्दा एक अर्ब सरकारलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा कमाइ हुने दावी गरिएको छ । श्वेतपत्रमा मातातिर्थ र थानकोटको मोहीको जग्गा व्यक्तिको नाममा पुर्‍याइएको विषयमा समेटिने स्रोतले बताएको छ ।

बाबुराम भट्टराई प्रधानमन्त्री र ट्रष्ट अध्यक्ष विजय गच्छदार भएका बेला २०६९ कात्तिक २ गते मन्त्रिपरिषद्को समितिको निर्णयअनुसार थानकोट, मातातिर्थ, सतुंगल र बालाजुको १७२ रोपनी १५ आना जग्गा नेपाल ट्रष्टको जग्गा मोही तथा हकवालाको नाममा नामसारी भएको थियो।