काठमाडौं । २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा पराजित भएदेखि नेकपा उपाध्यक्ष वामदेव गौतमको सांसद बन्ने चर्चा निरन्तर चल्यो । काठमाडौं, दैलेख, डोल्पाबाट वर्तमान सांसदलाई राजीनामा गराएर गौतमलाई सांसद बनाउने तयारी नभएका होइनन् तरपनि गौतमलाई प्रतिनिधिसभाको ढोका खुल्न सकेन ।

प्रधानमन्त्री बन्न नपाउने भएपछि राष्ट्रिय सभा सदस्य नबन्ने गौतमको इच्छामा परिवर्तन आएको छ । नेपालभित्र फेरिएको राजनीतिक सन्तुलनले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने भएको छ । प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन नभएसम्म सांसद नबन्ने सर्त राखेका नेकपाका उपाध्यक्ष गौतम राष्ट्रिय सभा सदस्य बन्ने भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको सिटमा गौतमलाई मनोनित गर्न नेकपा सचिवालय बैठकमा सहमति भइसकेको छ । २० फागुनमा राष्ट्रपतिबाट मनोनित अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सकिदैछ । खतिवडाको ठाउँमा गौतम सांसद बन्ने निश्चित भएको छ ।

शनिवारको बैंठकले गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने सहमति जुटाएपनि निर्णय भने गरेको छैन । पार्टी सचिवालयको सहमतिपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । राष्ट्रपतिले ग्रीन सिग्नल दिए गौतम आगमी २० फागुनदेखि राष्टिय सभाको सदस्य बन्नेछन् ।