काठमाडौं । नेकपामा जिल्लादेखि केन्द्रसम्म हरेक ठाउँमा विवाद छ । तर, प्रदेश २ मा भने अन्यत्रभन्दा अझ बढी विवाद छ । प्रदेश अध्यक्ष प्रभु साहले केन्द्रीय कमिटी बैठकमा पेस गरेको रिपोर्टअनुसार ‘अन्तरसंघर्षका नाममा पार्टीको प्रतिष्ठा नै ध्वस्त पार्ने गरी आपराधिक गतिविधि’ भएका छन् । जिल्लाका पदाधिकारी चयनमा खासखास व्यक्तिको चासोमा भागबन्डा गरिएकाले प्रदेश २ का आठवटै जिल्लामा विवादैविवाद र समस्यैसमस्या रहेको अध्यक्ष साहको रिपोर्टमा उल्लेख छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – प्रदेशमा लफडा कतिसम्म छ भन्ने विवाद विषय केन्द्रीय कमिटी बैठकमा समेत उठेको थियो । १५ देखि १९ माघसम्म चलेको केन्द्रीय कमिटी बैठकमा प्रदेश २ का अध्यक्ष साहले रिपोर्टिङ गरिरहँदा वामदेव गौतम ध्यानपूर्वक सुनिरहेका थिए । उनले यसरी ध्यानपूर्वक सुन्नुको रहस्य खुलेको छ, पार्टी विवादको ‘हेडक्वाटर’ बनेको प्रदेश २ मा केन्द्रबाटै हस्तक्षेप गर्ने नेकपाको तयारी छ । र, यसका लागि कमान्डर तोकिएका छन् गौतम नै । उनले विवाद सुल्झाउने सूत्र र योजना बुन्दै त्यसका लागि पहल सुरु गरेका छन् ।

यसअघि संगठन विभाग प्रमुख रहेका गौतम केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव अनुमोदन गरेसँगै उपाध्यक्ष पनि भएका छन् । यससँगै संगठन विभागले तयार पारेको कार्ययोजना पारित भइसकेको छ । नियमावली बदलेर संगठन विभागको अधिकार बढाइएको छ । पार्टी नियमावलीमा संशोधन गरेर संगठन विभागलाई केन्द्रीय कमिटी मातहतका पार्टी कमिटीहरूमा समस्या उत्पन्न भए कुनै पनि कमिटीको बैठकमा भाग लिन पाउने र समस्या समाधानको पहल लिने अधिकार दिइएको छ । यसबाहेक पार्टी विधान, नियमावली र संगठनात्मक सिद्धान्तबमोजिम कमिटीहरू सञ्चालित भएरनभएको जाँचबुझ गर्ने, पार्टी सदस्य तथा कमिटीहरूको चेतना, क्षमता र कामबारे जानकारी लिन र सम्बन्धित कमिटी एवं पदाधिकारीहरूलाई आवश्यक सुझाब दिन पनि सहभागी हुन पाउने अधिकारसमेत संगठन विभागले पाएको छ ।

नियमावली पारितसँगै केन्द्रीय कमिटी बैठकले प्रदेश २ को विवाद समाधानको जिम्मा संगठन विभागलाई दिने निर्णय गरेको थियो । विभागलाई पार्टी विधान, परिपत्र र पार्टी निर्णयका आधारमा विवाद समाधान गर्न केन्द्रीय कमिटीले जिम्मा दिएको छ । नियमावली र पार्टी केन्द्रको निर्णयका आधारमा संगठन विभागको प्रमुखको हैसियतमा गौतले प्रदेश २ को विवाद सुल्झाउने प्रयत्न सुरु गरेका हुन् । संगठन विभागमा पूर्वमाओवादी समूहबाट जनाद्र्धन शर्मा उपप्रमुख छन् । हाल संगठन विभाग १५ सदस्यीय छ ।

संगठन विभाग प्रमुख र पछिल्लोपटक पार्टी उपाध्यक्षको हैसियत पाएपछि वामदेव गौतमले आन्तरिक विवाद सुल्झाउने गृहकार्य थालेका छन् । पार्टी केन्द्रको निर्णय र संशोधित नियमावलीको अधिकार प्रयोग गरेर उनले विवादको केन्द्रमा रहेको प्रदेश २ बाट आफ्नो काम देखाउन चाहेका छन् ।

आन्तरिक विवादकै कारण प्रदेश २ का धनुषा, महोत्तरी, रौतहट, सप्तरी र सिराहामा एकीकरण प्रक्रियाले पूर्णता पाउन सकेको छैन । प्रदेश २ बाट स्थायी र केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने नेताहरूले विवाद समाधानमा अग्रसरता देखाउनुको सट्टा केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहमा विभाजित छन् । यसले समस्या थप निम्त्याउने देखेपछि गौतमले विभाग प्रमुखको हैसियतमा प्रदेश २ को विवादमा हात हाल्न चाहेका हुन् ।