काठमाडौं- नेकपा महासचिव विष्णु पौडेल र सर्वोच्चका न्यायाधीश कुमार रेग्मीले किनेको वालुवाटारको सरकारी जग्गा सुटुक्क सरकारका नाममा नामसारी गरेको विषयलाई आजको नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । शुक्रबार सबै काम हतार हातरमा सकिएको छ । शुक्रबार साँझसम्म जसरी पनि यो काम सक्न निर्देशन गरिएको समाचारमा उल्लेख छ ।

नागरिकले लेखेको छ- ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको तेस्रो दिन नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा रहेको बालुवाटारको जग्गा सुटुक्क सरकारका नाममा नामसारी भएको छ।

पौडेल र रेग्मीको अधिकृत वारेसबाट बालुवाटारको जग्गा शुक्रबार सरकारको स्वामित्वमा फिर्ता ल्याइएको हो। मालपोत कार्यालय डिल्लीबजारका प्रमुख गोविन्दप्रसाद अधिकारीले पौडेल र रेग्मीको नाममा रहेको बालुवाटारको जग्गा सरकारको स्वामित्वमा फिर्ता गरिएको स्वीकार गरे ।

‘पौडेल र रेग्मीको नाममा रहेको ललितानिवासको जग्गा शुक्रबार सरकारको स्वामित्वमा फिर्ता आएको छ,’ अधिकारीले भने, ‘मालपोत कार्यालय डिल्लीबजारबाट यस विषयमा निर्णय भएको छ।’ उनले यसबारे थप बोल्न चाहेनन्।

अख्तियारले ललितानिवास प्रकरणमा बुधबार १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्दा पौडेल र रेग्मीलाई भने उन्मुक्ति दिएको थियो। सरकारलाई जग्गा फिर्ता गर्न मन्जुर रहेको कारण देखाउँदै अख्यितारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थिएन।