काठमाडौँ । अमेरिका मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँग गरेको सम्झौता खारेजीको माग गर्दै नेपाल बन्दको आह्वान गरिएको छ । सम्झौता राष्ट्रघाती भएको र सम्झौता कार्यान्वयन भए नेपालीभूमी विदेशी सेनाको परेड स्थल हुने भन्दै फागुन ७ गते नेपाल बन्दको आयोजना गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादीले नेपाल बन्दको आयोजना गरेको हो ।

शान्तिप्रक्रियापछि तत्कालिन माओवादी नेतृत्वले जनतालाई धोका दिएको र जनयुद्धका बाँकी कार्यभार पूरा गर्ने भन्दै केशवले नेकपा माओवादी पार्टी गठन गरेका हुन् । उनले हालै एक विज्ञप्ति र जनसमुदायलाई सम्बोधन गरिएको अपील सार्वजनिक गर्दै नेपाल बन्दको घोषणा गरेका छन् ।

पार्टी अध्यक्ष केशवले माघदेखि चरणबद्ध संघर्षका कार्यक्रम समेत घोषणा गरेका छन् । जसअनुसार माघ १५ गते अन्तरक्रिया कार्यक्रम, माघ १६ सहिद सप्ताह मनाउने र एमसीसीको भण्डाफोर गर्ने, माघ २१ प्रधानमन्त्री र मन्त्रीहरुको पुत्ला दहन गर्ने, माघ २७ गते मशाल जुलुस बताइएको छ ।

त्यसैगरी फागुन १ गते जनयुद्ध दिवस मनाउने र फागुन ७ गते नेपाल बन्द गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।