काठमाडौं । पश्चिमी न्यून चापी प्रणाली नेपालको आकाशमा आएपछि अबको तीन दिन वर्षा र हिमपात हुने भएको छ । शक्तिशाली मौसमी प्रणालीका कारण बिहीबार(आज) देशैभरको मौसम बदली हुने भएको छ । पश्चिमी न्यून चापी प्रणाली बुधबार साँझबाट नेपाल आएको हो।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार बुधबार साँझ देशको पश्चिमी क्षेत्रबाट न्यून चापीय प्रणाली प्रवेश गरेको हो । नेपालमा यो प्रणाली तीन दिन रहने भएको छ । ‘पश्चिमी न्यून चापीय प्रणालीका कारण देशैभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा भारी हिमपातको सम्भावना छ,’ मानन्धरले भनिन् ।

शनिबार अपरान्नदेखि मौसममा सुधार आउने भएको छ । काठमाडौं लगायत देशका विभिन्न भागमा आज बर्षा हुने भएको छ । मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानमा भारी हिमपातको सम्भावना रहेको छ भने पुर्वका उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।