काठमाडौं । प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री भिम रावलले बालुवाटारबाट धम्की आएको सगरमाथा टेलिभिजनको अन्तर्वार्तामा सार्वजनिक अभिब्यक्ति दिएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अभिब्यक्तिको खण्डन गरेका छन् ।

‘यो सरकार बनेदेखि उहाँ लगातार विरोधमा हुनुहुन्छ तर अहिले बालुवाटारबाट ज्यान मार्ने धम्की आयो भन्न थाल्नु भएछ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने ‘उहाँलाई कसैले ज्यान मार्ने धम्की दिएको छैन, मन्त्री बन्न नपाएको छटपटी हो ।’ थापाले मन्त्री बन्न नपाएपछि रावलले बारम्वार सरकारमाथी हमला गर्ने गरेको बताए ।

बालुवाटारमा बस्ने व्यक्तिबाट मलाई ज्यान मार्ने धम्की आएको छ । लेडी डायनाले जसरी ज्यान गुमाउनु पर्योे तिमीले पनि ज्यान गुमाउला भनेर बालुवाटारसँग सम्बद्ध व्यक्तिबाट मलाई धम्की दिइएको हो’ उनले टेलिभिजन सम्वाद कार्यक्रममा भने ‘पुष्पलालको मृत्यु भएर नेपालको कम्युनिष्ट आन्दोलन र देशभक्तिपूर्ण आवाजहरू हराएर गएन । मदन भण्डारीलाई गाडी दुर्घटनाको अनेक नाटक मञ्चन गरेर दासढुंगामा हत्या गरेर मदन भण्डारीका देशभक्त पूर्ण आवाज नेपाली धर्तीबाट मेटिएनन् । मलाई जीवनको धम्की दिनेहरूले राम्ररी स्मरण गर्नुपर्छ ।’

तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने उनको भनाईलाई पूर्णरुपमा खारेज गरेका छन् । ‘उहाँ गृह र रक्षा जस्तो शक्तिशाली मन्त्री भइसक्नु भएको छ, अगाडी पछाडी सुरक्षाकर्मी छन् । उहाँलाई कसले ज्यान मार्ने धम्की दिन्छ ?’ थापाले भने ‘सपनामा बालुवाटारबाट ज्यान मार्ने धम्की आयो होला ।’