पाकिस्तानले कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्दै त्यहाँ जनमत संग्रह गराउन संयुक्त राष्ट्र संघले गरेको प्रतिबद्धता कार्यान्वयनका निम्ति अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ ।

पाकिस्तानी राजदूत मजहर जावेदले आइतबार आफ्नै कार्यकक्षमा अन्तरसंवाद कार्यक्रम गरी ७० वर्षअघि राष्ट्रसंघीय सुरक्षा परिषद्ले पारित गरेको कश्मीरसम्बन्धी प्रस्ताव कार्यान्वयनमा विश्व समुदायले सघाउनुपर्नेमा जोड दिएका हुन् ।

दक्षिण एसियाको शान्ति, स्थायित्व र विकासका लागि उक्त समस्या हल गर्नु अपरिहार्य भएको उनले बताए । पछिल्ला पाँच महिनामा उक्त क्षेत्रका जनता आधारभूत सेवाबाट वञ्चित भएकाले त्यसका निम्ति अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक भएको उनले बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी, राजनीतिक विश्लेषक सुरेन्द्र केसी, पत्रकार राजन कार्कीलगायतले संवादका माध्यमबाट समस्याको निकास खोजिनुपर्ने बताए । त्यसअघि पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले कश्मीरीको आत्मनिर्णयको अधिकार दिवसका अवसरमा जारी गरेका सन्देश वाचन गरिएका थिए ।