म्यत साल ?’ (कति बर्षको भयौ ?)
‘इलगोब साल’ (सात वर्ष)
‘ओहो, अर्को वर्षदेखि त स्कुल जाने ?’ चिनेका, आफन्तदेखि नचिनेकाहरुले समेत छोरीलाई देख्नसाथ सोधीहाल्थे । छोरी जन्मेको १५ महिना पुग्नसाथ अरिनीचिब (प्लेग्रुप) मा पठाउन थालें । म व्यस्त भएर वा बच्चा हेर्ने मान्छे नभएर होइन । विदेशी आमा भाषाको कारण बच्चाले पनि छिटो बोल्न जान्दैन भनेर मलाई भाषा सिकाउने मिसको करले छोरीलाई छिटै अरिनीचिब पठाएको ।

कोरियामा गर्भवती अवस्थादेखि नै सरकारले बच्चा र आमाको स्वास्थ्य उपचारको लागि रकम दिने गर्छ । बच्चा जन्मेदेखि स्कुल जाने उमेरसम्म  बच्चाले मासिक भत्ता पाउँछ । यदि बच्चालाई छिटै अरनीचिब पठायो भने पैसा उतै जान्छ र पठाएन भने अभिभावककै खातामा जम्मा हुन्छ । कोरियामा बच्चा जन्मनुसाथ एक वर्षको हुन्छ अर्थात् गर्भ बसेदेखि नै बच्चाको उमेर गनिन्छ । बच्चा जन्मेदेखि ६ बर्ष अर्थात् कोरियन उमेर ७ वर्षसम्म अरिनीचिब, युछिवन पठाइन्छ । जहाँ खेलद्धारा आधारभूत शिक्षा दिइन्छ । र, पढ्न लेख्न पनि सिकाइन्छ ।

कोरियनहरुको आफ्नो छुट्टै नयाँ वर्ष भए पनि उनीहरु अंग्रेजी वर्षलाई नै प्रयोगमा ल्याउँछन् । त्यहि अंग्रेजी नयाँ साल फिरेसँगै ७ वर्ष (कोरियन उमेर ८ वर्ष) मा लागेका बालबालिकाहरु नजिकैको प्राथमिक विद्यालयमा कक्षा १ मा भर्ना हुन्छन् । जुन बालबालिकाहरुको लागि औपचारिक शिक्षाको सुरुआत हो । त्यसैले आफ्ना छोराछोरीहरु स्कुल प्रवेश गर्ने बेला अति उत्साहित र खुशी देखिन्छन् । त्यहि खुशियालीमा आफन्तहरुले समेत बालबालिकाहरुलाई उपहार दिने चलन छ ।

२०१९ मार्च महिनाको पहिलो हप्ता मेरो लागि पनि उत्तिकै हर्षोउल्लासमय भयो । छोरीलाई चाहिने शैक्षिक सामाग्रीहरुको किनमेल दुई महिना अघिदेखि नै गरिसकेकी थिएँ । छोरीको फुपुहरुले फोनमा सोध्थे, ‘छोरीलाई के किनिदिउँ ? ब्याग ? कपडा ?’ ‘केही पर्दैन मैंले सबै किनिसकें ’, म भन्थें । ‘ए उसो भए पैसा नै पठाइदिउला’, जवाफ आउथ्यो । कुनै चाडपर्व भन्दा कम भएन छोरीको लागि परिवार र आफन्तबाट गिफ्ट पाउँदा । त्यसो त आमा पनि दंग छोरीको नामको पैसा पाउँदा । छोरीले झगडा गर्दा, भनेको नमान्दा या खेलौना किनिमाग्दा भन्ने बाटो पाइयो, ‘अब तँ बच्चा होइनस् स्कुल जाने विद्यार्थी पो त । ’ ‘हो त है म अब ज्ञानी हुन्छु नि ल आमा’, आफुलाई केही परिपक्कता देखाउन खोज्दै भन्छे ।

उहिले आमाले मलाई तीन वर्षको उमेरमा स्कुल पठाउनु भयो । गाउँको एक जना दाईले चक्लेट, चिनी हातभरी थामी दिएर मलाई काँधमा बोकेर लगेको याद छ । म बेसरी रोएको थिएँ स्कुल जान नमानेर। मेरो मातृभाषा थुलुङ नेपाली भाषा जसलाई खस भाषा भनिन्थ्यो मलाई बोल्न आउँदैन थियो । त्यहिमाथि लाजले भुतुक्कै । स्कुलमा कसैसँग बोल्दिन थिएँ । कक्षामा सरले हाजिर गर्दा पनि म बोल्दिन थिएँ । तीनवर्ष एक कक्षामै बसें । त्यो बेलाको जमाना नै त्यस्तै थियो । विशेष गरी गाउँघर, कुनाकाप्चाका बालबालिकाहरु म भन्दा कम थिएनन् होला लजाउने, डराउने, धक मान्ने । म त्यो बेला आमाको डरले स्कुल जान्थें अहिले मेरो छोरी रहरले स्कुल जान्छे । निर्धक्क बोल्छे । अहिलेका केटाकेटीहरुलाई लाज भन्ने शब्द नै थाहा छैन ।

मार्चको ४ तारिख सोमबार सबै अभिभावकहरु आफना छोराछोरीका साथमा भेला भएका थिए । कक्षा १ मा भर्ना हुने नयाँ विद्यार्थीहरुलाई स्वागत गर्ने कार्यक्रमका साथै विद्यालयको बारेमा जानकारी सहितको कार्यक्रमको आयोजना गरिएको थियो । उहिले म स्कुलमा नयाँ कक्षामा भर्ना हुँदा एक रास नयाँ पुस्तक बोकेर घर फर्किन्थें । नयाँ पुस्तक पढ्न पाउदाको मजा नै बेग्लै हुन्थ्यो । तर अहिले मेरो छोरी स्कुल जाँदा स्कुलब्यागभित्र एउटा नोट बुक र पेन्सिल वक्स मात्र हुन्छ । बेलुकी फर्किदा नोटबुकमा शिक्षिकाले त्यस दिन केके पढाए वा सिकाए त्यसको समिक्षात्मक नोट लेखेर पठाउँछन् । नत गृहकार्य नत पुस्तक हाइ सञ्चो छ विद्यार्थीलाई । कहिले काँही भने स्कुलमा दिएको होमवर्क लिएर आउछे अनि फटाफट सकाउछे ।

मलाई कक्षा १ को पुस्तक हेर्ने रहर, एक दिन छोरीको शिक्षिकालाई फोन गरेर सोधें, उनले भनिन्, ‘विद्यार्थीहरुले पढ्ने पुस्तक हामी कक्षा मै राख्छौं र उनीहरुलाई चाहिने सामग्री पनि सबै उनीहरुकै लकरमा राख्न लगाउँछौं । उनीहरुले पढिसकेको पुस्तक अनि नोटकापीहरु लेखिसकेपछि मात्र पठाइदिन्छौं किनकी पुस्तक कापीहरु विद्यार्थीले घरमा लाने ल्याउने गर्दा एक त उनीहरुलाई बोक्न भारी हुन्छ अर्को कहिलेकाही स्कुलमा ल्याउन विर्सने भएकोले हामी स्कुलमै राखिदिएका हौं । त्यहिमाथि धेरै जसो पुस्तक हामीले स्कुलको पुस्तकालयबाट लिएर पढाउने भएकोले पनि घरमा पुस्तक नपठाएको हो । ’ कुरो ठिकै पनि हो ।

बेलाबेलामा स्कुलबाट अभिभावकलाई आफ्ना छोराछोरीलाई कसरी पढाइन्छ भनेर कक्षा अवलोकन गर्न बोलाइन्छ । प्रविधिको विकासले गाउँघरको स्कुलमा जस्तो चक र डस्टर देख्नै पाइन्न । शिक्षकलाई पनि क्या सजिलो कम्प्युटर अन गर्यो पढायो । विद्यार्थी त जहाँका पनि उस्तै हल्ला गर्नै पर्ने । तर शिक्षकको मिठो बोलीले सबैको ध्यान आफुतिर केन्द्रित गरेर अनुशासित राख्न सक्ने खुबीलाई मान्नै पर्छ । उहिले हामीले कक्षाकोठामा शिक्षकले पढाइरहेको बेला हल्ला गर्यौं या शिक्षकले सोधेको प्रश्नको जवाफ दिन सकेनौं भने पिशाब नै निस्कने गरी शिक्षकले हातमा सिर्कनोको डाम बसाउथे कि कान समाएर साथीहरुको अगाडि उठबस गर्नुपथ्र्यो नत्र क्लास सकुन्जेल बाहिर टाउकोले भुँई टेकेर उभिनु पथ्र्यो । तर अहिलेका शिक्षकले विद्यार्थीलाई कुट्न त परै जाओस् गाली गर्न समेत पाउदैनन् ।

कोरियामा शिक्षण पेशालाई अति सम्मानित पेशाको रुपमा लिइन्छ । मेरो जेठी आमाजु पनि शिक्षिका । उनको सान नै अर्कै । कसैले थाहा पाए भन्छन्, ‘ओहो टिचर ?’ आफुलाई पनि अलिकति इज्जत बढेजस्तो भान हुने । मेरो छोरी अहिलेबाटै टिचर बन्ने भन्छ । उसको बाबुको सपना पनि टिचर बनोस् भन्ने छ तर मलाई भने टिचर पेशा पटक्कै मन नपर्ने । म गाउँबाट एसएलसि दिएर राजधानी पसें । बुबाले शिक्षा विषय लिएर पढ भन्नु भयो म मानिन । यहि बन्छु या गर्छु भन्ने कुनै सपना पनि नदेखेकी म कलेज टेक्ने रहरले फुरुंग थिएँ तर के विषय पढ्ने भन्नेमा अन्योलमै थिएँ । अन्तमा बुबाले नै आरआर क्याम्पसमा पत्रकारिता विषयमा भर्ना गराइदिनुभयो । पछि त्यहि विषयमा रुचि बढ्दै गयो ।

विवाह गरेर कोरिया आएँ । अहिले सम्झन्छु, त्यो बेला टिचिङ लाइनमै लागेको भए कोरियामा पनि काम लाग्ने थिएछ । घरमा कहिलेकाँही छोरीलाई अंग्रेजी सिकाउछु । त्यतिले नै दिमाग तातिन्छ भुत्रोको टिचर बन्नु ? बरु छोरीले मजाले कोरियन भाषा सिकाउछे । भन्छे, ‘म आमाको कोरियन टिचर । ’