धान्यपूर्णिमा पर्वलाई विशेष गरी ब्राह्मण, क्षेत्री, किरात र नेवारी समुदायले आ–आफ्नै तरिकाले मनाउने गरेका छन् ।

ब्राह्मण, क्षेत्री समुदायले कुलपूजा अर्थात् गोठ पूजाको रुपमा धान्यपूर्णिमा मनाउने गर्दछन् भने नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले बिहीबार योमरी पूर्णिमाका रूपमा हर्षोल्लासका साथ मनाउँदैछन् । त्यस्तै किरात समुदायले बिहीबार उधौली सकेला अर्थात किराँत पर्व मनाउँछन् ।

यसै दिन ज्यापू संस्कृतिको रक्षार्थ ज्यापू दिवस मनाइन्छ । सो अवसरमा नेवारी सभ्यताको झल्को दिने खालका विभिन्न सांस्कृतिक -याली समेत निकाल्ने परम्परा रहिआएको जानकारहरू बताउँछन् ।

धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइन्छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मी लगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

किराँत समुदायले बिहीबारै उँधौली पर्व मनाउँदै छन् । किराँत समुदायका याक्खा, सुनुवार, लिम्बू, राईलगायत जातिले आफ्नो मौलिक परम्पराअनुसार यो पर्वमा आ–आफ्ना इष्ट देवताको पूजापाठ गरी मीठा खानेकुरा खाँदै र शुभकामना दिँदै नाचगान गर्ने गरेका छन् । किराँतीले उँधौली र उँभौलीमा प्रकृति र पितृको पूजा गर्छन् । पूजापछि आ–आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन् । मंसिरे पूर्णिमाबाट जाडो सुरु हुने भएकाले लेकका चराचुरुंगी र खोलाका माछा बेंसी झर्ने भएकाले यो पर्वलाई उँधौली भनिएको हो ।

यसैगरी नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाउने गर्दछन् ।
योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ । यो पर्वलाई नेवार समुदायले पनि नवअन्नप्राशनका रुपमा समेत मनाउने गरेको संस्कृतिविद्हरु बताउँछन् ।