दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ ।फाइनलमा भुटानलाई दुई एकले हराउँदै नेपालले स्वर्ण जित्न सफल भएको हो । लगातार दुई सागको स्वर्ण जितेको नेपालका लागि यो ऐतिहासिक सफलता हो । खेलको १७ औं मिनेटमा नेपालले अग्रता बनाएको थियो । नेपालका लागि अभिशेख रिजालले गोल गरे । जारी प्रतियोगितामा अभिशेखको यो तेस्रो गोल हो । एक गोलले पछि परेको भुटानले १९ औं मिनेटमा गरेको प्रहार पोष्ट माथिबाट बाहिरीयो । खेलको ३७ औं मिनेटमा भुटानले खेल बराबरी गर्न सफल भएको थियो । भुटानका लागि कप्तान चेन्चो ग्याल्जेनले उत्कृष्ट गोल गरेका थिए । पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको ५४ औं मिनेटमा सुनील बलले गोल गर्न सफल भए । त्यसपछि भुटान खेलमा फर्कन सकेन र नेपालले स्वर्ण हात पार्यो । हारपछि पनि भुटानले ऐतिहासिक रजत जित्न सफल भयो । जारी सागमा भुटानको यो पहिलो रजत हो । यसका साथै पुरुष फुटबलमा भुटानले रजत जितेको पनि पहिलो पटक हो । पुरुष फुटबलमा नेपाल मात्र अपराजित एक्लो टिम बन्यो ।