काठमाडौं । विभिन्न दबाबमूलक कार्यक्रमका साथ करिव तीन सातादेखि सम्पदा संरक्षण अभियानकर्मीहरुले सञ्चालन गर्दै आएको ‘अकुपाई टुँडिखेल अभियान’को कुनै अर्थ नभएको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन् ।

अतिक्रमित टुँडिखेल क्षेत्रको संरक्षण गर्न सरकारलाई दबाब दिने उद्देश्यले गत कात्तिक तेस्रो सातादेखि नागरिकस्तरबाट अभियान शुरु गरिएको थियो । अभियानलाई साथ दिन ‘खुल्ला ठाउँलाई खुल्लै राखौं’, ‘पुर्खाको नासो जनताको हक’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर डा. बाबुराम भट्टराई, गगन थापा, हिसिला यमी, भिमसेनदान प्रधान, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ, प्राध्यापक केदारभक्त माथेमालगायतका व्यक्ति व्यक्तित्वहरु खुलामञ्च क्षेत्रमा उपस्थित भएका थिए । त्यसयता पटक पटक विभिन्न दबाबमूलक कार्यक्रम गरिएका छन् भने पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले समेत टुँडिखेल अतिक्रमणमुक्त गर्ने नागरिक अभियानमा आफ्नो ऐक्यबद्धता सार्वजनिक गरेका छन्।

यसरी अकुपाई टुँडिखेल अभियानको पक्षमा माहोल तात्दै गएको परिवेशमा मेयर विद्यासुन्दर शाक्यले उक्त अभियान ‘फजुल’ भएको धारणा सार्वजनिक गरेका हुन् । हाल टुँडिखेल आसपासमा भवनको पुनःनिर्माणको काम भइरहेकाले सुन्दरतामा केही कमी आएको शाक्यको भनाई छ । निर्माणकार्य सम्पन्न भएसँगै टुँडिखेल पुरानै अवस्था आउने उनी दाबी गर्छन् ।

टुँडिखेलको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई जीवन्त राखी संरक्षण र खुला बनाउने दायित्व महानगरपालिकाकै हो भन्दै उनी टुँडिखेल खुला गर्नुपर्छ भन्ने चाहना रहेको तर अभियान सञ्चालन गर्नु आवश्यक नभएको र आगामी तीन महिनामा यी सबै समस्याको समाधान हुने दाबी गर्छन् । सार्वजनिक चासोको विषयलाई राजनीतिकरण गर्न नहुने तर्कका साथ उनी अभियानकर्मीको आलोचना गर्न हिच्किचाउँदैनन् । दरबार हाइस्कूल र धरहरा पुनःनिर्माण, वीर अस्पतालका भवन निर्माण गर्ने क्रममा त्यहाँ निर्माण सामग्री थुपारिएकोले टुँडिखेल मिचिएजस्तो देखिएको मेयर शाक्यको भनाई छ । ती संरचनाको निर्माण पूरा हुने बित्तिकै खुलामञ्च खाली हुने उनी बताउँछन् ।