काठमाडौं, २० मंसिर । उपनिर्वाचनमा प्रदेश २ मा पुराना दलबाहेक आकर्षणको केन्द्रमा डा.सीके राउत नेतृत्वको जनमत पार्टी पनि थियो ।

मूलधारको राजनीतिलाई स्वीकार गर्दै राउतको पार्टी पहिलो पटक चुनावी मैदानमा उत्रिएको थियो । यो निर्वाचन उनले उठाएका मुद्दालाई कति जनसमर्थन प्राप्त छ भन्ने परीक्षणका रूपमा हेरिएको थियो ।

‘लाउडस्पीकर’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका राउतले ९ जना उम्मेदवारहरूलाई चुनावी मैदानमा उतारेका थिए ।

तर कुनै पनि उम्मेदवारहरूले सन्तोषजनक मत ल्याउन सकेनन् । कोही उम्मेदवार त झन् शून्य मतमा सीमित रहे ।

जनमत पार्टीको उद्देश्य उपनिर्वाचनमा भाग लिएर जित्नु थिएन । उसले मधेशको मुद्दालाई ‘क्यास’ गर्न खोजेको हो ।

यदि यसो भयो भने नयाँ राजनीतिक समीकरण अवश्यम्भावी छ र यस अवस्थामा राजनीतिको मूल लाभ कसले प्राप्त गर्ने हो यसै भन्न सकिने अवस्था छैन ।

समाजवादी पार्टी र राजपाबीचको एकीकरण प्रयासलाई यसै सन्दर्भसँग जोडेर हेर्न सकिन्छ ।

डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई एकीकृत रहेको पृष्ठभूमिमा समाजवादी र राजपाबीचको एकीकरणपछि भविष्यमा मधेशका नाममा राजनीति गर्ने एक मात्र जनमत पार्टी हुने सम्भावनालाई अस्वीकार गर्न पनि सकिँदैन ।
अब हुने निर्वाचनमा मधेशको उपस्थिति कस्तो हुने भन्ने अहिलेको मुख्य सवाल हो ।

कांग्रेस र मधेशी दल लोकतान्त्रिक अवधारणामा विश्वास गर्छन् । यस्तोमा प्रश्न उठ्छ, भोलिका दिनमा मधेशमा कसको कोसँग प्रतिस्पर्धा हुन्छ भन्ने अहम् प्रश्न पनि हो ।