१२ बुँदे शान्ति सम्झौता : राजावादी र माओवादी दुबै शक्ति पत्तासाफ, संसदवादी शक्तिको विजय

तत्कालीन माओवादी पार्टीले २०५८ मंसिर ८ गतेका दिन आफ्नो सैन्य शक्तिलाई जनमुक्ति सेनाका रुपमा औपचारिक घोषणा गरेको थियो ।

जनमुक्ति सेना घोषणा पूर्वमाओवादी सैन्य शक्ति छापामार सेनाको रुपमा क्रियाशील थियो । सोही दिनकै अवसर पारेर मंसिर ८ गते राति दाङ जिल्लाको घोराहीस्थित शाही नेपाली सेनाको ब्यारेक लगायत देशव्यापी फौजी कार्वाहीहरु भएका थिए । स्याङ्जा र सोलुखुम्बु सदरमुकाममा पनि त्यही दिन हमला गरिएको थियो ।

दाङमा तत्कालीन शाही नेपाली सेनामाथि जनमुक्ति सेनाको पहिलो हमला थियो । सो कार्वाहीमा आफ्नोतर्फ सामान्य क्षतिका बाबजुद जनमुक्ति सेनाले नेपाली सेनाको ब्यारेक सफलतापूर्व नियन्त्रण लियो । उक्त आक्रमण माओवादी सैन्य श्रेष्ठताको उच्चता त थियो नै, त्यसका साथै पुरानो सत्तामाथि फौजी दबाबको एक रणनीतिक पहलकदमी थियो ।

सामान्यतः यो भन्न सकिन्छ कि यदि उक्त आक्रमण असफल नहुँदो हो त माओवादी आन्दोलनको विकासमा एक असामान्य चुनौति सिर्जित हुने थियो । पुरानो सत्तासँगको उच्च प्रविधि जनमुक्ति सेनाले जुन स्तरमा प्राप्त गर्न सफल भयो, त्यसले माओवादी सैन्य क्षमतालाई निकै हेरफेर गरिदियो । यसर्थ, मंसिर ८ माओवादी आन्दोलनको विकासमा एक ऐतिहासिक दिन हो ।

२०६३ मंसिर ५ एउटा त्यस्तो दिन हो, जुन दिन माओवादी पार्टीेले पुरानो सत्तासँग शान्ति सम्झौता गर्‍यो । त्यो सम्झौताको जग २०६२ मंसिर ७ गते भारतको दिल्लीमा सम्पन्न तत्कालीन सात दल र माओवादीबीच भएको १२ बुँदे सहमतिबाट शुरु भएको थियो ।

सोही सम्झौताबमोजिम ‘क्यान्टोनमेन्ट’ खडा गरेर अपरिचालनको अवस्थामा राखिएको जनसेनालाई अन्ततः पूर्णरुपले विघटन गरियो । पुरानो सत्ताको सुरक्षा निकायबाट कब्जा गरिएका सम्पूर्ण हतियार निःशर्त पुरानो सत्तालाई नै फिर्ता गरियो । माओवादी आन्दोलनको पतनमा त्यो नै यस्तो दिन थियो, जहाँबाट शुरु गरिएको अभियानले माओवादी आन्दोलनलाई निःशस्त्र मात्रै पारेन, अन्नतः छिन्नभिन्न र टुक्राटुक्रा बनाइदियो ।

त्यस्तै २०७१ साल मंसिर ८ गते माओवादी आन्दोलनमा अर्को एउटा परिघटना सिर्जित भयो । त्यो दिन माओवादी आन्दोलनकै एउटा पंक्तिले आफूलाई पूनर्गठित गरेर माओवादी आन्दोलनकै पुनर्गठनको घोषणा गर्‍यो । नेत्रबिक्रम चन्द विप्लवको नेतृत्वमा पुनसर्ंगठित उक्त पंक्ति नेपाल कम्युनिस्ट  पार्टीका नामले परिचित भइसकेको छ । यो पुनर्गठन माओवादी आन्दोलनको पुनरुत्थानमा एक ऐतिहासिक कोशेढुंगा हो ।

माओवादी आन्दोलनको उदय जुन समयमा भयो, त्यो एक वस्तुगत एवं ऐतिहासिक आवश्यकता थियो । उक्त आवश्यकतालाई तत्कालीन नेतृत्वले सचेतन र योजनावद्ध पहलकदमीका रुपमा अघि बढायो । त्यसको नतिजा पनि निकै सकारात्मक अभिव्यक्ति भयो । नेपालको इतिहासमा सामाजिक जागरण तथा सांस्कृतिक रुपान्तरणको कोणबाट हेर्दा माओवादी आन्दोलन एक अद्वीतीय पहलकदमी हो ।

जनता र राष्ट्रप्रतिको उच्च समर्पण र निःशर्त वलिदान माओवादी संस्कृतिको आम विशेषता थियो । जसको परिणाम माओवादी आन्दोलनमा त्याग, समर्पण र सौर्यका चमत्कारीक कीर्तिमानहरु खडा भए र माओवादी आन्दोलन तिब्र गतिमा विकसित हुन पुग्यो । यो कुरा साम्राज्यवादी एकाधिकार पुँजीपति वर्ग र उसकै पृष्ठपोषणमा हुर्किइरहेको फासिवादी तब्कालाई पाच्य भएन । फलस्वरुप, माओवादी आन्दोलनका बिरुद्ध देशी विदेशी षडयन्त्रका थुप्रै तानावानाहरु बुनिन शुरु भए ।

माओवादी आन्दोलनताका देशको राजनीति राजशक्ति, संसदवादी शक्ति र माओवादी शक्तिका रुपमा ध्रुवीकृत भएको थियो । तिनीहरुमध्ये संसदवादी शक्तिलाई विदेशी एकाधिकार पुँजीवादको पूर्ण आड थियो । राजशक्तिसँग उनीहरुले बार्गेनिङ गरिरहेका थिए । राजशक्ति उनीहरुका लागि प्रतिकूल र अनुकूल आधाआधि थियो ।

माओवादी शक्ति एकाधिकार पुँजीवादको पूर्ण प्रतिकूल थियो । त्यसो भएपछि कुनै पनि हालतमा माओवादी शक्तिलाई किनारा लगाउनु उसको पहिलो कार्यसूची बन्ने नै भयो । परिस्थिति यस्तो बन्न गयो कि यी तीनमध्ये कुनै दुईलाई एक ठाऊँमा ल्याउन सकेको खण्डमा अर्कोको पराजय अवश्यम्भावी थियो ।

माओवादी आन्दोलनको अघिल्लो चरणमा राजशक्ति र माओवादी शक्ति सहकार्यको नजिक रहे । जसको परिणाम संसदवादी शक्ति अस्तित्वको चरम संकटबाट गुजि्ररहेका थिए । त्यसलाई ‘काउण्टर’ गर्न नारायणहिटी हत्याकाण्डको रचना गरियो । ततपश्चात पनि माओवादी शक्ति र राजशक्ति बीचको सहकार्य केहि समय जारी रह्यो । तब विदेशी शक्ति केन्द्रहरुको निशानामा राजशक्ति र माओवादी शक्ति दुबै पर्न गए । त्यसका लागि उनिहरुले दुबैलाई एक अर्का बिरुद्ध उपयोगको तरिका अवलम्बन गरे । यो रणनीतिमा उनीहरु एकदमै सफल भए । एक अर्का विरुद्धको उपयोगमा राजशक्ति र माओवादी शक्ति दुबै पत्तासाफ भए । अन्ततः विजयको उपाधि संसदवादी शक्तिको हात लगाइयो ।

२०६३ मंसिर ५ गते रचना गरिएको विस्तृत शान्ति सम्झौता यही अभियानको खतरनाक चक्रब्यूह थियो । त्यतिबेला राजशक्ति पूर्ण पराजित भइसकेको थियो । माओवादी शक्ति सम्झौताको ‘मायावी’ जालमा फसिसकेको थियो । बाँकी थियो उसको हाडखोर गर्न । सोही ‘डिजाइन’ बमोजिम नै मंसिर ५ को कथित बृहद शान्ति सम्झौता गरिएको थियो ।

आजको दिनसम्म आइपुग्दा माओवादी आन्दोलनको मुख्य नेतृत्व प्रचण्ड र बादलसहितको ठूलो पंक्ति विगतमा आफैले घोषणा गरेको “नवप्रतिक्रियावादी” “एमाले गुट”मै विलीन भएर नेकपा (नेकपा) गठित भइसकेको छ । माओवादी आन्दोलनका चर्चित बौद्धिक नेता बाबुराम भट्टराई माक्र्सवादलाई नै परित्याग गरेर ‘कुतीको बाटो’ हिँडिसकेका छन् । उता प्रचण्डसँगको बैचारिक लडाइँमा आफूलाई साथ दिएका मोहन वैद्य किरण, जो माओवादी आन्दोलनका एक मूर्धन्य दार्शनिक समेत हुन्, उनलाई समेत छाडेर नेत्रबिक्रम चन्द विप्लवको नेतृत्वमा गठन भएको नेकपाले माओवादी आन्दोलनलाई नेतृत्व प्रदान गरिरहेको छ । भलै, नेपाल कम्युनिस्ट पार्टीलाई हिजोकै ‘सहकर्मी, सहयोद्धा कमरेडहरु’ सहभागी दुई तिहाईको सरकारले प्रतिबन्धसमेत लगाइसकेको छ ।

नेपाल कम्युनिस्ट पार्टीले पार्टी र सिंगो माओवादी आन्दोलनलाई नै पुनर्गठन गर्न संजोग परेको यो दिन मंसिर ८ हुन पुग्यो । हुन त हरेक आवश्यकताहरु संजोगकै रुपमा अभिव्यक्त हुने गर्दछन् । जे होओस्, माओवादी आन्दोलनको उत्थान, पतन र पुनरुत्थानमा मंसिर महिना एउटा गज्जबकै संजोग बनेर इतिहासमा दर्ज हुन गएको छ ।

माओवादी आन्दोलनको पुनर्गठन आज पनि एक ज्वलन्त वस्तुगत आवश्यकता हो । आर्थिक-सामाजिक क्षेत्रमा आमूल परिवर्तन गर्न, राष्ट्रियताको रक्षा तथा नेपाली जनताको वास्तविक समृद्धि र सुख शान्तिका लागि एउटा क्रान्ति फेरि पनि जरुरी छ । त्यसको परिपूर्ति हो- पुनर्गठन । माओवादी मूल्यलाई तत्कालीन नेतृत्वले परित्याग गरेर आज ऊ अलग र गलत बाटोमा लागेको छ । जबकि, माओवादी आन्दोलनको मूल्य, त्यसको लक्ष्य र उद्देश्य विल्कुल ठीक थियो । यसर्थ, त्यसको पुनर्गठन सामाजिक अग्रगमनको आवश्यकता हो ।

कथित शान्ति प्रक्रिया यताका करिब १३ वर्षहरुले यो साबित गरेका छन् कि माओवादी आन्दोलनको पराजयले राष्ट्रिय स्वाधीनता र स्वभिमानको समेत नराम्ररी पराजय भएको छ । त्यसकै परिणाम आज विदेशी एकाधिकार पुँजीवादले व्यापक जरा फैलाइरहेको छ । राष्ट्रिय अर्थतन्त्र चौपट भएको छ । दलाल पुँजीवादले जनजीवन आक्रान्त पारिरहेको छ । घुस, भ्रष्टाचार, महंगी, वेरोजगारी यसकै परिणाहरु हुन् । एकाधिकार पुँजीवादकै ‘डोमिनेसन’ को अर्को परिणाम हो, देशको सीमाना मिचिँदै जानु ।

यो स्थितिमा नेपाल कम्युनिस्ट पार्टीको गठन अर्थात् माओवादी आन्दोलनको पुनर्गठन एउटा सुखद पहलकदमी हो । तर, यो पहलकदमी विगत आन्दोलनको हु-बहु नक्कल भने किञ्चित होइन । यो इतिहासको कटू शिक्षासहित माओवादी आन्दोलनको नयाँ उच्चता हो । यो नवीन प्रतिवद्धता र नविन सम्भावनाहरुको खोजी हो । यो जडताहरुमाथिको सम्बन्ध विच्छेद हो । स्खलनका बिरुद्ध बिद्रोह हो । तर, मालेमाका आधारभूत मूल्यको तिलाञ्जली विल्कुल होइन । पुनर्गठनको यो संजोग नेपालको इतिहासमा अपूर्ण आन्दोलन र क्रान्तिहरुको परिपूर्णताको इमान्दारिपूर्ण पहल हो । धोका, गद्धारी र कायरताको तिरस्कार हो ।

अन्तमा, मंसिर महिनाको यो संजोगलाई दृढतापूर्वक सामना गरौं ।

लेखक विप्लव नेकपाका केन्द्रीय सदस्य हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

..........................स्वच्छ, निष्पक्ष र मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज विहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको विचार,भावना र कुरालाई पत्रकारिता मार्फत बाहिर ल्याउने यस अनिज्वाला डट कमको उदेश्य हो ।