काठमाडौ। सरकारले गत वर्ष सबैभन्दा धेरै कर तिरेर राज्यलाई योगदान गर्ने करदाताहरुलाई सम्मान गरेको छ । आन्तरिक राजश्व विभागले सर्वाधिक कर तिर्नेमा बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्राइभेट लिमिटेडलाई सम्मान गरेको छ ।

यस्तै व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्नेमा तारा म्यानेजमेन्ट प्रालिका प्रवन्ध निर्देशक सिद्धार्थसम्शेर राणा रहेका छन । उनी चौथो पटक लगातार बढी कर तिर्ने सूचिमा परेका छन ।  सूर्य नेपाल ठुलो चुरोट उत्पादन गर्ने उद्योग हो । सूर्य लगातार बढी कर तिर्ने कम्पनीको सूचीमा पर्दै आएको छ ।

निर्यातकर्ता मध्येबाट वहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालि रहेको छ । व्यापारिकबाट जगदम्बा प्रालि र बैंकहरु मध्येबाट राष्ट्रिय बाणिज्य बैंक भएको छ । यसैगरी सञ्चार क्षेत्रबाट वर्डलिङ्क कम्युनिकेसन, बिमाबाट नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, व्यापार व्यवसायमा अग्नि इन्टरप्राईजेज प्रालि र पर्यटनबाट तारागाउँ रिजेन्सी होटल रहेका छन ।

यस्तै कृषितर्फ अन्नपूर्ण एग्रो, लघुवित्तबाट छिमेक लघुवित्त वित्तीय संस्था, शिक्षा र स्वास्थ्यमा मणिपाल कलेज बढी कर तिर्नेमा परेका छन ।
मध्यमस्तरिय करदाताका तर्फबाट कामना विकास बैंक, घोराही सिमेन्ट उद्योगलाई पनि सम्मान गरिएको छ ।

आठौं कर दिवसको अवसरमा आइतबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले १५ विधाका उत्कृष्ट करदातालाई सम्मान गरेका हुन।