काठमाडौं । दूरसंचार सेवाको समग्र बजार हिस्सामध्ये आधा भन्दा धेरै ओगटेको नेपाल टेलिकमसँग सक्रिय ग्राहकहरुको संख्या भने निकै कम रहेको देखिएको छ । नेपाल दूरसंचार प्राधिकरणको साउन महिनको एमआईएस डाटाअनुसार नेपाल दूरसंचार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को कुल बजार हिस्सा ५५ प्रतिशत रहेको छ जसमा कम्पनीको फिक्स्ड वायर टेलिफोन सेवा, मोबाइल र अन्य सेवाहरु समावेश भएको देखिन्छ ।

सो तथ्यांकमा अर्को प्रतिस्पर्धी मोबाइल सेवा प्रदायक एनसेलको ४० प्रतिशत बजार हिस्सा छ भने स्मार्ट टेलिकमको बजार हिस्सा ५ प्रतिशत रहेको देखिन्छ ।

तर नेपाल टेलिकमको सक्रिय सेवाग्राहीहरुको हिस्सा हेर्दा भने प्रतिस्पर्धी एनसेलको भन्दा निकै कम रहेको देखिन्छ । समग्र बजार हिस्सामा अग्रस्थानमा रहेको नेपाल टेलिकम सक्रिय सेवाग्राहीहरुको संख्याको आधारमा हेर्दा भने एनसेलभन्दा मुनि हुँदै दोस्रो स्थानमा छ ।

टेक्नोलोजीखबरलाई प्राप्त नेपाल टेलिकमका सक्रिय सेवाग्राहीहरुको पछिल्लो तथ्यांक हेर्दा नेपाल टेलिकमले आफ्ना सक्रिय ग्राहकहरुको संख्यामा सुधार गर्दै गएको देखिन्छ । तर पनि एनसेलको सक्रिय ग्राहकहरुको तुलनामा भने निकै पछाडि रहेको छ । नेपाल टेलिकम र एनसेलको सेवाग्राहीहरुको अन्तर प्रतिशतको आधारमा हेर्दा करिब २० प्रतिशतको फरक रहेको देखिन्छ ।

साउन महिनामा नेपाल टेलिकमका सक्रिय सेवाग्राहीहरु ८४ लाख ५२ हजार माथि रहँदै जम्मा सक्रिय सेवाग्राहीहरुमध्ये ३८.४४ प्रतिशत हिस्सा लिएको छ । त्यसैगरि सबैभन्दा धेरै सक्रिय सेवाग्राहीहरु रहेको एनसेलको भने साउन महिनामा १ करोड ३० लाख २१ हजार भन्दा बढि हुँदै सक्रिय सेवाग्राहीहरुमध्ये ५९.२२ प्रतिशत हिस्सा लिएको छ ।

यो आधारमा हेर्दा सरकारी टेलिकम कम्पनी नेपाल टेलिकम र एनसेल बिचको फरक करिब २१ प्रतिशत हुन आउँछ ।

साउन महिनाको तथ्यांकलाई आधार मान्दा सक्रिय सेवाग्राहीहरुहरुमध्ये नेपाल टेलिकमले बढाईरहेको देखिन्छ भने एनसेलको सक्रिय ग्राहकहरु घटिरहेका छन् ।

प्राप्त तथ्यांकअनुसार असोज मसान्तमा नेपाल टेलिकमसँग ३.८४ प्रतिशत सक्रिय ग्राहक छन भने एनसेलसँग ५८.८३ प्रतिशत ग्राहकहरु रहेका छन् ।

नेपाल टेलिकमको सक्रिय ग्राहकहरुको संख्या साथै बजार हिस्सा प्रतिशत पनि बढेको देखिन्छ भने एनसेलको बजार हिस्सा प्रतिशत घटेपनि सक्रिय ग्राहक संख्या बढेको देखिन्छ ।

यी दुई बाहेक स्मार्ट टेलिकमसँग पनि केहि सक्रिय सेवाग्राहीहरु रहेको देखिन्छ ।