राजपा विद्यार्थी नेताको समेत संलग्नता रहेको तस्बिरबाट पुष्टि

भारतले जारी गरेको आफ्नो राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेक समेटेको विरोधमा देशब्यापी रूपमा भारतको विरोध हुन थालेपछि प्रायोजित तवरले छापामार शैलीमा मधेशका विभिन्न जिल्लामा उत्तर छिमेकी चीनविरुद्ध प्रर्दशन हुन थालेको छ ।

नेपालको भूमि अतिक्रमण गरेको विरोधमा पछिल्लोपटक सोमबार (२५ कात्तिक) सप्तरीमा चिनियाँ राष्ट्रपति सी जिङ पिङको पुत्ला जलाइएको छ । सप्तरी सदरमुकाम राजविराजसँगै जोडिएको विष्णुपुर गाउँपालिका क्षेत्रमा सोमबार बेलुकी चिनियाँ राष्ट्रपति पिङको पुत्ला जलाइएको हो ।

दलित विद्यार्थी नेता दिनेश खंगको नेतृत्वमा भेला भएका १०–१२ जना युवाले सिको पुत्ला जलाएका थिए ।

‘गो ब्याक चाइना’ लेखिएको प्ले कार्डसहित जम्मा भएका युवाहरूले महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसनजिकै पुत्ला दहन गरेका थिए । चीनले नेपाली भूमि मिचेको तथा सगरमाथाको सीमाना हड्पेको आरोप समेत उनीहरूले लगाए ।

पुत्ला जलाउने कार्यक्रमको अगुवाई गरेका खंग नेपाल भारत मैत्री युवा संघका केन्द्रिय सदस्य हुन् । उनी दिनेश शर्मा नामले फेसबुक चलाउँछन् ।

उनीहरूले स्वस्फूर्त रूपमा नभई राजपाकै एक विद्यार्थी नेताको उक्साहटमा चिनियाँ राष्ट्रपतिको पुत्ला जलाएर चीनको विरोध गरेका श्रोतको दाबी छ ।

कालापानी र लिपुलेकसहित नेपालका अन्य भूभाग भारतीय पक्षले अतिक्रमण गरेको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालमा पुत्ला जल्न थालेपछि प्रयोजित एवम् छापामार शैलीमा कसैको निर्देशनमा मधेशमा चीनविरोधी गतिविधि गराउन लागिएको श्रोतको दाबी छ ।

चीनविरोध गतिविधिसम्बन्धी प्रकाशित समाचारहरू राजपाका केन्द्रिय स्तरका नेता किशोरकुमार यादवले आफ्नो फेसबुकमा सेयर गर्ने गरेका कारण सप्तरीमा चीनविरोधि गतिविधि सञ्चालनमा उनैको हात रहेको हुनसक्ने अनुमान गरिएको छ । पुत्ला जलाउने क्रममा खिचिएको तस्बिरमा नेपाल भारत युवा मैत्री संघका केद्रिय सदस्यसमेत रहेका उनी देखिएका छन् । राम जन्मभूमिको पक्षमा भारतीय सुप्रिम कोर्टले फैसला गरेपछि उक्त खुसियालीमा उनले नेपाल भारत यूवा मैत्री संघको तर्फबाट गत शनिबार राजविराजमा दिपावली गरेका थिए ।

यसअघि सप्तरीकै सुनिता साह चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भन्दा दुई दिन अगाडि राजविराजबाट पक्राउ परेकी थिइन् । गत भदौ महिनामा चिनियाँ विदेशमन्त्रीबाट गरिएको नेपाल भ्रमणका बेला काठमाडौंस्थित चिनियाँ दुतावासअगाडि भएको प्रदर्शनमा सहभागी रहेको आरोपमा साह पक्राउ परेकी थिइन् ।

उनमाथि महानगरीय प्रहरी वृत्त कमलपोखरीले अभद्र ब्यवहार मुद्दा चलाएका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशले उनी पाँच हजार धरौटीमा थुनामुक्त भएकी थिइन् । समाजवादी पार्टीमा आवद्ध रहेकी साह पक्राउ परेपछि समाजवादी पार्टी सप्तरीले विज्ञप्ति जारी गरी उनी आफ्नो पार्टीको सदस्य नरहेको जनाएका थिए ।

यता सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले भने सप्तरीमा चिनियाँ राष्ट्रपतिको पुत्ला जलाएको विषयमा आफुलाई कुनै जानकारी नरहेको घटना र विचारलाई बताए ।

सप्तरी बाहेक सर्लाही, कपिलवस्तु, बर्दीया लगायतका जिल्लाहरुमा पनि ‘गो ब्याक चाइना’को नारा लगाउँदै चिनियाँ राष्ट्रपतिको पुत्ला जलाइएको छ ।