News Title

डडेल्धुरा । डडेल्धुरा सदरमुकामबाट १७औं पटकको सत्याग्रह थालेका चिकित्सा शिक्षा क्षेत्रका अभियन्ता प्राडा गोविन्द केसीले वर्तमान सरकार दम्भमा रहेका कारण देशको शिक्षा र स्वास्थ्य नीति राम्रो बन्न नसकेको बताएका छन् ।

सत्याग्रहका क्रममा हाल सदरमुकामस्थित डडेल्धुरा अस्पतालमा रहेका डा. केसीले आइतबार अपरान्ह सञ्चारकर्मीसँग कुराकानी गर्दै जुम्लामा थालेको आमरण अनशनमा पनि सरकारले जबरजस्ती गरेको बताए । आफू आफ्ना मागहरूप्रति प्रतिबद्ध भएर लाग्ने जनाउँदै उहाँले सरकारलाई अझै कडाभन्दा कडा मागहरु राख्ने बताए ।

उनले प्रत्येक नागरिकले शिक्षा र स्वास्थ्य निःशुल्क रूपमा पाउनुपर्ने बताउँदै नेपालीहरुले वर्तमान केपी ओली नेतृत्वको सरकारलाई जनताको मालिक होइन सेवक भएर काम गर्न भोट दिएको स्मरण गराए ।

डा. केसीका सबै माग सरकारले तत्काल पुरा गर्नुपर्ने भन्दै नागरिक समाज र व्यावसायिक तथा पेशागत संघ संस्थाहरुको अगुवाइमा डडेल्धुरावासीले प्रदर्शन गर्दै आएका छन् । डा. केसीले सत्याग्रह थालेको सात दिनसम्म पनि सरकारले कुनै प्रतिक्रिया नजनाएपछि सदरमुकाम बागबजारमा आइतबार झुरो (सल्लाको दियालो) जुलुस निकालिएको छ ।

सरकार अँध्यारोमा सुतेकाले झुरो बाली बिउँझाउन झुरो जुलुस निकाएको प्रदर्शनका अगुवा डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टले बताए । प्रदर्शनकारीले राँको बाली बागबजार क्षेत्र परिक्रमा गर्दा प्रहरीले हस्तक्षेप गर्न खोज्दा सामान्य झडप भएको थियो ।

प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि प्रहरीविरुद्ध समेत नाराबाजी गरिएको थियो । हजारौंको संख्यामा रहेका प्रदर्शनकारीले दिनभर सरकारी गाडी चलाउन रोक लगाएका थिए भने व्यवसायीले आन्दोलनमा समर्थन गर्दै दिउँसो बजार बन्द गरेका थिए । एम्बुलेन्सबाहेक अन्य सवारीसाधनसमेत प्रदर्शनका क्रममा ठप्प रहे ।

झुरो जुलुश प्रदर्शन पश्चात सदरमुकामस्थित भीमदत्त चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले डा. केसीले जनताका माग राखेर सत्याग्रह गर्दा सरकारसँग भएका सम्झौताहरु अक्षरशः कार्यान्वयन हुनुपर्ने बताए ।

डा. केसीले मुलुकको संविधानअनुसार शिक्षा र स्वास्थ्यमा आम नागरिकको पहुँच हुनुपर्ने माग उठाउँदा सरकारले बेवास्ता गर्न नहुने उनले जिकिर गरे । प्रजातान्त्रिक शिक्षक संघ डोटीका अध्यक्ष लोकराज भट्टले डा. केसीका मागहरु जायज भएको भन्दै गरिब र निमुखाका लागि उनको अभियान भएकाले यसमा सबैले साथ दिनुपर्ने बताए ।

सरकारले माग सम्बोधनका लागि चासो नदेखाएको भन्दै डडेल्धुराबासीको आन्दोलन कडा बन्दै गएको छ । डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेका कारण रिफर गर्ने तयारी भइरहेको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले बताए ।