■ हेमशंकर सिंह, राजविराज

बिचौलियाले प्रहरीलाई प्रभावमा पार्ने गरेको गुनासो स्थानीयले प्रहरीसमक्ष गरेका छन् ।

इलाका प्रहरी कार्यालय कञ्चनपुर (सप्तरी)ले शनिबार अग्निसाइर कृष्णासवरन गाउँपालिकामा आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा स्थानीयले प्रहरीसमक्ष त्यस्तो गुनासो पोखेका हुन् ।

हात्ती नियन्त्रणमा स्थानीय प्रशासन असफल भएको, प्रहरी र जनप्रतिनिधिबीच समन्वय तथा सहकार्यको अभावले जनताले दुःख पाइएको, इलाका प्रहरी कार्यालय महुलीमा साधन र जनशक्ति नहुँदा प्रहरी सेवा प्रभावित हुने गरेको, अब्यवस्थित ट्राफिकले सडक दुर्घटना बढेको, आगुऔषध र घरेलुु मदिरा नियन्त्रणमा आउन नसकेको लगायतका गुनासा सो क्रममा सहभागीहरुले सुनाएका थिए ।

कार्यक्रममा बोल्दै अग्निसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले शान्तिसुरक्षा कायम राख्न समुदाय र प्रहरीबीच सहकार्य आवश्यक रहकोमा जोड दिए । प्रहरी र जनताको सामुहिक प्रयासबाटै समाजमा शान्ति सुरक्षा कायम गर्न सकिने उनको धारणा थियो ।

गलत सोच र संस्कारले आगुऔषध जस्ता विकृति समाजमा माहामारीको रुपमा फैलिँदै गएकोप्रति चिन्ता ब्यक्त गर्दै अध्यक्ष चौधरीले दुर्व्यसनमा लागेकाहरुलाई नियन्त्रण गर्ने प्रयास गाउँका अगुवाहरुबाट गरिँदा अभिभावकबाटै प्रतिवाद हुने गरेको भन्दै असन्तुष्टि पोखे ।

प्रहरीलाई गाउँपालिकाबाट आबश्यक श्रोत साधन उपलब्ध गर्ने प्रतिबद्धता पनि अध्यक्ष चौधरीले व्यक्त गरे ।

अग्निसाइर कृष्णासवरन गाउँपालिकाका न्यायिक समितिका संयोजक एवम् उपाध्यक्ष मीना चौधरीले समुदाय प्रहरी सझेदारी कार्यक्रमले प्रहरीमा जनताको पहुँच बढेको भन्दै कार्यक्रमको प्रशंसा गरिन् । उनले कार्यक्रमलाई अझ प्रभावकारी रुपले अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।

नागारिक सुनवाई कार्यक्रमका अध्यक्ष एवम् ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले कार्यक्रममा उठेका गुनासा, समस्या र सवाललाई आफै पनि सम्बोधन गर्ने र आफ्नो अधिकारले नमिल्ने कुराहरू सम्बन्धित निकायमा जस्ताको तस्तै पठाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा अग्निसाइर कृष्णासवरन वडा नम्बर १ का वडा अध्यक्ष सुशील कुमार चौधरी, वडा नम्बर ४ का तेजनारायण यादव, राजनैतिककर्मीहरु भुवन आचार्य, संचारकर्मीहरु बृजमान तामाङ, बोधराज सवेदी, हात्तीपीडित खड्गबहादुर तामाङ, पुर्वजनप्रतिनिधिहरु मोतिलाल चौधरी, बद्रीनारायण चौधरी, शिक्षा ब्यवसायी उमाकान्त चौधरी, नागरिक अगुवाहरु उचितनारायण चौधरी, सरोज कुमार राना मगर, फनिलाल लेखी, मिलनकुमार चौधरी, अशोक कुमार यादवले समुदाय र प्रहरीबीच समवन्यकारी भुमिका निर्वाह हुनुपर्नेमा जोड दिएका थिए ।