देश नरहे के हुन्छ त ?

बुझ न सुझ, के हो रहनु र नरहनु भनेको ?
यो देश डुब्छ ?
हराउँछ ?
अन्तरिक्षमा विलीन हुन्छ कि पृथ्वीमा भासिन्छ ?
अर्को मुलुकमा जोडिने त हो नि !

भूभाग रहिहाल्छ,
हाम्रा महल र दरबार भत्किने होइन,
हामी, हाम्रो पद र सम्पत्ति रहिहाल्छ,
हाम्रो बैंकको पैसा अझ बलियो पैसा बन्छ !

यहाँ चुनाव लड्न मोदी, सी चिन्फिङ, पुटिन, डोनाल्ड ट्रम्प आउने होइनन्,
हामी नै हो !
बरु मिलाउँला नि आलोपालो, के भयो र ?

जनता रे ?
आ…यिनलाई ५० वर्ष बेवकुफ बनाउने विद्या र कला कण्ठै छ हामीलाई !

दुई त्यान्द्रा हरियो घाँसको पछाडि भ्या–भ्या गरेर लागिहाल्छन् !
मर्न मार्न तयार भइहाल्छन् !
भोट हालिहाल्छन् !
वश गोठमा पराल र बारीमा हरियो घाँस छुट्नु हुन्न !
यसो खोले दाना !
अनि दाम्लामा बाँध्यो, कहिले थलोमा घाँस–कुँडो दियो,
कहिले लामो डोरीको पगाहा लगाइदियो !
साँझमा खोरमा पस्न आफैँ भ्या–भ्या र म्या–म्या गरिहाल्छन्
अनि बल गरे कहिलेकहीँ तातो भुङ्ग्रोमा हेलिदियो वा कुनै काण्डमा पारेर सिध्याइदियो !
घाँस–कुँडो, दाना–पानीमा रत्तिएनन् भने कि जिउँदो शहीद भनेर लालपुर्जा दियो कि साँच्चैको शहीद बनाइदियो !
दिनहौँको कचकच सुन्नु र विरोध व्यहोर्नुभन्दा एकैचोटि ‘महान् शहीद’ !

तिनको नियति नै त्यही हो…
मैले गरे पनि त्यही हो र अर्कोले पनि तिनलाई गर्ने त्यही हो ।
जीवित रहे त के हुने के हुने ? जहिले पनि आफैँलाई महान् शहीद बनाउलान् भन्ने जगजगीमा बाँच्नु पर्ने !

तात्तो न छारोको थेग्न नसकिने यो स्वतन्त्रता प्रभुसत्ताको झ्याउलो कति बोक्नु ?
हिजो कसरी बोके उनी जानुन् !
तर अब यो असम्भव भारी बोक्न सकिन्न !
तनाव धान्न सकिन्न !
उनैलाई फिर्ता गर्न सकिन्न, गर्न खोजे आफैँ रहिन्न !
के हालत पार्छन् थाहा छैन !

निश्चित हो, अब यो ढुङ्गो थामिएन !
यो ढुङ्गो थाम्न हामी कोही सक्नेवाला परेनौँ !
सबैको पाइन् देखेकै हो, नौनाडी छामेकै हो !
बरु उनीहरूकै भजन गायो, कुर्सी समातेर बसिरह्यो !
यसो गर्दा नि हुँदैन उसो गर्दा नि हुँदैन !
के गर्नु त ?
त्यसै गाउँघरमा बुढा–पुरानाले मर्नु भन्दा बहुलाउनु निको भनेका रहेछन् र ?

(सत्यसँग कतै मेल नखाने कुनै काल्पनिक स्थानको एउटा नितान्त काल्पनिक प्रसङ्ग, फेसबुकमा)