काठमाडौं- भारतले ३ नोभेम्बरमा निकालेको नयाँ राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको ३७२ वर्गकिमी क्षेत्र पनि समावेश गरेको छ। उसले नेपाली भूमि आफ्नो नक्सामा समेटेपछि नेपालमा जनस्तरबाट भारतीय दादागिरीको चर्को विरोध भएको छ।
राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुले भारतले लिुपुलेकसहितका सिमाक्षेत्र कब्जा गरेको विषयलाई मुख्य समाचार बनाएका छन् ।

नेपालमा विरोध चर्किदै गर्दा भारतीय विदेशमन्त्रालयका प्रवक्ताले आफूहरुले निकालेको नयाँ नक्सा सहि रहेको दाबी गरेका छन् । यता नेपाल सरकारले एकलौटी रुपमा भारतले गरेको निर्णय स्विकार गर्न नसकिने बताएको छ।

यसै विषयलाई मुख्य समाचार बनाउँदै नयाँ पत्रिका दैनिकले कालापानीमा जमिन, सुस्तामा जीवन खोसियो शीर्षकमा खबर लेखेको छ । नागरिक दैनिकले पश्चिमी सीमामा सधैं समस्या शीर्षकमा खबर छापेको छ ।

अन्नपूर्ण पोस्ट्ले सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भारतीय नक्सा स्विकार्न नसकिने भनि दिएको प्रतिक्रियालाई मुख्य समाचार बनाएको छ ।

यस्तै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले नेपाली सिमा नमिचेको भनि दिएको प्रतिक्रियालाई पनि महत्वका साथ छापेको छ ।

कान्तिपुर दैनिकले भने भारतले कालापानीवरै पनि मन्दिर बनाउन नदिएको खुलासा गरेको छ । भगवान तो एक ही हे, तुमको कितना भगवान चाहिए भन्दै स्थानीय नेपालीलाई भारतीय सेनाले फर्काएको समाचारमा उल्लेख छ ।

भारतले कालापानीवरै पनि मन्दिर बनाउन दिएन

कान्तिपुरमा प्रकाशित समाचारअनुसार भारतीय पक्षले महाकाली नदीवारि आएर सैन्य शिविर खडा गरेको कालापानी क्षेत्र स्थानीय ब्यासी (सौका) समुदायको परम्परागत पवित्र भूमि हो ।

तर त्यहाँ उनीहरूलाई प्रवेश निषेध छ । त्यसैले उनीहरूले अतिक्रमित क्षेत्रभन्दा करिब २ सय मिटरवरै एउटा मन्दिर बनाउन चाहे । त्यसको निर्माणमा पनि भारतीय सुरक्षाकर्मीले अवरोध खडा गरेका छन् ।

कालापानी दार्चुलाको सबभन्दा उत्तरी ब्यास गाउँपालिका, वडा नम्बर १ मा पर्छ । त्यसमुन्तिरको पहिलो गाउँ छाङरुका बासिन्दालाई पूजा गर्न सजिलो होस् भनेर कालापानीमा काली मन्दिर बनाउन ब्यास गाउँपालिकाले ४ लाख रुपैयाँ विनियोजन गरेको छ ।

स्थानीयले भारतीय अर्धसैन्य बलको अतिक्रमणमा परेको क्षेत्रभन्दा २ सय मिटरवरै मन्दिर बनाउन खोजेका हुन् । मन्दिर निर्माण थाल्नुअघि उनीहरू कालापानीमा रहेका भारतीय सुरक्षाकर्मीलाई त्यसबारे जानकारी दिन गएका थिए ।

काम थालिसकेपछि समस्या उत्पन्न हुन सक्ने आशंकामा आफूहरू सीमामा तैनाथ भारतीय सुरक्षाकर्मीलाई सोध्न गएको उनीहरूको भनाइ छ ।

‘सुरुमा कालापानीमा रहेका भारतीय सुरक्षाकर्मीका इन्चार्जले सकारात्मक कुरा गरेका थिए,’ मन्दिर निर्माण समितिका अध्यक्ष अमरसिंह ऐतवालले कान्तिपुरसित भने, ‘केही छिनपछि अर्कै ठाउँमा फोन गरेर सोधेपछि हुन्न भने ।’

भारतीय सुरक्षाकर्मीका इन्चार्जको भनाइ उद्धृत गर्दै ऐतवालले सुनाए, ‘भगवान् तो एक ही हे, तुम को कितना भगवान् चाहिए भन्दै हामीलाई फर्काइदिए ।’

भारतीय पक्षले मिच्दै आएको कालापानी क्षेत्रको नेपाली भूमिभन्दा करिब २ सय मिटरवरै छाङरुका बासिन्दाले कालीको मन्दिर बनाउन खोजेको ऐतवालले बताए ।

मन्दिर बनाउन स्थानीय बासिन्दाका चार जना प्रतिनिधि गत भदौ अन्तिम साता भारतीय सुरक्षाकर्मीलाई सोध्न गएका थिए । ‘दुई देशको कुरा हो । सीमा क्षेत्रमा मन्दिर बनाउन मिल्दैन भन्यो,’ अध्यक्ष ऐतवालसँगै गएका स्थानीय रामसिंह बोहराले भने, ‘उल्टै हामी चारै जनाको बहुयात्रा अनुमतिपत्र, फोटो र बुबाको नामसमेत टिपेर राखेको छ ।’

छाङरुका बासिन्दालाई अहिले उक्त क्षेत्रमा जान पनि भारतीय पक्षले व्यवधान पुर्‍याउँदै आइरहेका छन् । ‘भारतले नक्कली बनाएको काली नदीभन्दा करिब आधा किलोमिटर क्षेत्रसम्म घेरबार गरेको छ,’ बोहराले भने, ‘त्यसभन्दा पनि करिब २ सय मिटरवरै मन्दिर बनाउने हाम्रो सोचाइ थियो, बनाउन दिएनन् ।’