काठमाडौं ।नेपाली सेनाले नेपाल भ्रमण वर्ष सन् २०२० का अवसरमा विभिन्न कार्यक्रम गरी मुलुकको पर्यटन प्रवद्र्धनका लागि साहसिक एवं पर्यटकीय गतिविधि सञ्चालन गर्ने भएको छ । नेपाल सरकारले लक्ष्य प्राप्तिमा सहयोग पु¥याउन विदेशी पर्यटकको सहभागिता हुने गरी प्रतियोगितात्मक साहसिक खेलकूदका कार्यक्रमका साथै पर्यटकीय गतिविधि सञ्चालन गर्न लागेको नेपाली सेनाले जनाएको छ ।

भ्रमण वर्षका अवसरमा साहसिक खेल, म्याराथन दौड, जङ्गल सफारी, हिमाली पदयात्रा, बहुराष्ट्रिय संयुक्त सैनिक सगरमाथा आरोहणलगायत नौ वटा कार्यक्रम आयोजना गर्न लागिएको सेनाले जानकारी दिएको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसहित विभिन्न राजदूतावासका प्रतिनिधि तथा पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा सेनाले भ्रमण वर्षका अवसरमा आयोजना हुने कार्यक्रमबारे जानकारी गराएको हो ।

उक्त समारोहमा उपप्रधानमन्त्री पोखरेलले मुलुकले लिएको लक्ष्य भेट्नका लागि नेपाली सेनाले अगाडि सारेको जस्तो कार्यक्रम जरुरी रहेको औँल्याउँदै विदेशमा पनि प्रचारात्मक कार्यक्रम आवश्यक भएको औँल्याए ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले सरकारी लक्ष्यप्राप्तिका लागि सेनाकोतर्फबाट पूर्ण सहयोगको प्रतिबद्धता जनाउँदै भ्रमण वर्ष सफल बनाउन विभिन्न कार्यक्रम गर्नेगरी प्रचारात्मक अभियान थालिएको जानकारी दिए । पर्यटन वर्ष सफल पार्न सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले नेपालको सुन्दरता र प्रकृतिलाई विश्वसामु पु¥याउनुपर्नेमा जोड दिए ।

सेनाले आयोजना गर्न लागेको कार्यक्रमबारे जानकारी दिँदै सेनाका बलाधिकृत रथी शरद गिरीले विविधतायुक्त नेपाल पर्यटनका हिसाबले प्रचुर सम्भावना रहेको उल्लेख गरे । नेपाली सेनाले नेपाल भ्रमण वर्ष २०२० का अवसरमा आयोजना गर्ने विभिन्न नौ वटा कार्यक्रमबारे उनले जानकारी दिए ।

प्रमुख सेनानी सुवास खड्काले काभ्रेको पदयात्रा र सेनानी राजेश चन्दले नेपाली सेनाले आयोजना गर्ने खुला साहसिक खेलकूद प्रतियोगिताका बारेमा प्रस्तुति दिएका थिए भने महासेनानी सुवास थापाले जङ्गल सफारी र हिमाली पदयात्रा, प्रमुख सेनानी अर्जुन बस्नेतले प्याराग्लाइडिङ कार्यक्रम, सेनानी विनोद चौलागाईंले लिगलिगकोट दौड, सेनानी दिनेश खड्काले पाँचखालमा आयोजना हुने रन फर फनका बारेमा जानकारी गराए ।

यस्तै, प्रमुख सेनानी अशोक खाँडले पोखरामा हुने नेपाल म्याराथन, प्रमुख सेनानी सुनिलसिंह राठौरले बहुराष्ट्रिय संयुक्त सैनिक सगरमाथा आरोहण २०२० कार्यक्रमका बारेमा जानकारी दिए । गन्तव्य सगरमाथा नाम दिइएको उक्त कार्यक्रम ९० दिनको हुने र कार्यक्रममा सहभागी हुने विभिन्न देशमा निमन्त्रणसमेत पठाइसकेको नेपाली सेनाले जनाएको छ ।

सो कार्यक्रमको उद्देश्य नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने, नेपालसँगको अन्तरराष्ट्रिय सम्बन्ध थप विस्तार गर्ने र नेपाल र अन्य मुलुकको अनुभव आदानप्रदान गर्ने रहेको नेपाली सेनाले जनाएको छ ।