काठमाडौं । सभामुख कृष्णबहादुर महराले आफ्नै कोठामा आएर आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाउने रोशनी शाही र उनका पतिबीचको २८ वर्षे दाम्पत्यजीवनले अन्ततः अर्कै मोड लिन पुगेको छ । उनीहरूले अब सम्बन्धविच्छेद गर्दै अलग हुने निर्णय गरेका छन् ।

रोशनीका श्रीमान चित्रजंग शाहीले सामाजिक सञ्जाल फेसबुकमा आफूहरू सहमतिमै २८ वर्ष लामो दाम्पत्यजीवनबाट अलग हुने निर्णयमा पुगेको जानकारी गराएका छन् । एउटा कागजमा सोही व्यहोरा उल्लेख गर्दै अन्तिममा दुवैजनाले हस्ताक्षर गरेको लेखोट (पत्र) शाहीले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् ।

असोज १६ गते तयार गरेर उनले पोस्ट गरेको पत्रमा हामीले २८ वर्षसम्म सँगसँगै बितायौँ र सयमको गतिसँगै अलग हुने निर्णयमा पुगेका छौं भन्दै डिभोर्स गर्न सहमत भएको व्यहोरा उल्लेख छ ।

उनले पोस्ट गरेको पत्रमा भनिएको छ, ‘थुप्रै उतारचढावका बीचमा हाम्रा साथसाथ २८ वर्ष दिनहरू बिते । समयको गतिसँगै असहमति असन्तुष्टि आउँदारहेछन् । तथापि खुसीसाथ अलगअलग बस्ने निर्णय गरेका छौँ । कानुनी प्रक्रियाको निरन्तरका साथ ।’