कृष्णबहादुर महराले सभामुख पदबाट दिएको राजीनामा आज असोज १५ गते बुधबार सूचना पाटिमा प्रकाशन गरिएको छ। सोमबार राति एक महिलाले महरालाई जबर्जस्ती करणी गरेको आरोप लगाएपछि मंगलबार पार्टीको सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन भनेको थियो। त्यस लगत्तै महराले प्रतिनिधि सभा नियमावली अनुसार उपसभामुखलाई राजीनामा बुझाएका थिए। नियमावली अनुसार त्यसको सूचना संसद बैठक बसेको भए बैठकमा र नबसेको भए सूचना पत्रमा आउनु पर्थ्यो। बुधबार दिउँसो सूचना पत्रमा यसको जानकारी आएको छ।

संसद सचिवालयका सचिव डा. भरतराज गौतमले सभामुखको राजीनामाको जानकारी सम्बन्धी सूचना पत्र सार्वजनिक गरेका हुन्। योसँगै अब सभामुख पद कानुनी रुपमा नै रिक्त भएको छ।

सभामुखले आफ्नो राजीनामा पत्रमा लेखे जस्तो छानबिन अवधिसम्मका लागि राजीनामा भने हुने छैन। छानबिन सकिएपछि पनि उनी पदमा फर्कन पाउने छैनन्। फर्कने नै हो भने पुनः प्रतिनिधि सभाले नै चुन्नु पर्नेछ।

योसँगै प्रतिनिधि सभाको वेबसाइटमा सभामुखबाट कृष्णबहादुर महराको नाम पनि हटेको छ।