अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारअनुसार सुन्दा गर्वै लाग्छ- नेपाल एयरलाइन्स सीधै जापान उड्न थालेको छ। यसको व्यापारिक हालत भने पीडादायी छ। अर्थात्, वाइडबडी विमान रित्तैजस्तै जान्छ, रित्तैजस्तै आउँछ।
अगस्ट २९ यता काठमाडौं–ओसाका–काठमाडौं १५ उडान भए। अहिलेसम्मको औसत यात्रु संख्या भने सिट क्षमताको १९ प्रतिशत मात्र छ। २ सय ७६ सिट क्षमताको वाडइबडी विमान अगस्ट ३१ मा त काठमाडौंबाट १८ जना बोकेर उड्यो।

‘ओसाका सेक्टर अत्यधिक घाटाको उडान हो’, निगमका उच्च अधिकारीहरू भन्छन्, ‘भाडा, दूरी र खर्च हेर्दा यस रुटको अकुपेन्सी ८० प्रतिशतभन्दा माथि पुगे मात्र नाफामा जान्छ।’

लामो गन्तव्य नपाएर एक वर्ष अलमलिएको वाइडबडी ओसाका उडाउने तयारी भइरहेको थियो। निगम दिवस जुलाई १ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्टै भने, ‘उडाउनुपथ्र्यो नारिता, उडाउन खोजिँदैछ ओसाका।’

नारिता राजधानी टोकियोसँगैको विमानस्थल हो। त्यसभन्दा टाढाको सहर ओसाकाबाट नेपाल आउने र यताबाट त्यहाँ जाने यात्रु तुलनात्मक निकै कम हुन्छन्। यो जापानको क्षेत्रीय केन्द्र हो, जहाँ नेपालसँग हवाई व्यापार चम्किने कुनै साइनो छैन।

सवारी दुर्घटना : कारण भेटिन्छ, समाधान खोजिन्न

कान्तिपुर दैनिकमा प्रकाशित समाचारअनुसार मुलुकभर सवारी दुर्घटनाबाट दिनहुँ ७ जनाको मृत्यु हुने गरेको छ ।

गत आर्थिक वर्षमा मात्रै मुलुकभर १३ हजार ४२१ दुर्घटनामा २ हजार ७६२ जनाको मृत्यु भयो । प्रहरीको ट्राफिक निर्देशनालयका अनुसार तीमध्ये ९ हजार ९४० दुर्घटनाको कारण चालकको लापरबाही हो ।

पछिल्ला ८ वर्षमा काठमाडौं, भक्तपुर र ललितपुरमा ४६ हजार दुर्घटना भए । त्यसमा १ हजार २३६ जनाले ज्यान गुमाए । २ हजार १४५ जना गम्भीर र ३२ हजार ६९५ जना सामान्य घाइते भए । गत वर्षका ८ हजार सवारी दुर्घटनामा ५०८ जनाले ज्यान गुमाए । यसअनुसार उपत्यकामा मात्रै दुर्घटनाबाट दिनहुँ एकभन्दा बढीले ज्यान गुमाउने गरेका छन् ।

०७०/७१ मा भएका ८ हजार ४०६ दुर्घटनामध्ये ६ हजार ५ र ०७१/७२ मा ९ हजार १४५ दुर्घटनामध्ये ६ हजार ६०९ मा चालकको लापरबाही कारण थियो । पछिल्लो ५ वर्षयता दुर्घटनाबाट बर्सेनि २ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा दुर्घटना हुनुको कारण के हो भन्नेसमेत विश्लेषण गरेको छ । त्यसमा चालकको लापरबाहीलाई पहिलो कारण देखाइएको छ । दुर्घटनाको कारण पत्ता लागे पनि सुधारको बाटो भने नअपनाइएकाे छैन् ।