आज मंगलबार इन्द्रजात्राको अन्तिम दिन , यो यःसिं ठड्याएसँगै सुरु भएको इन्द्रजात्रा यसलाई ढालेसँगै सकिन्छ। दुवै काम साइत हेरेर हुन्छ। साइत निकाल्ने काम गर्छ- राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले। समितिले पठाएको साइतको सूचीमा लेखिएको थियो- इन्द्रध्वज पातन – मिति २०७६ साल भाद्र ३१ गते मंगलबार समयः २९: ३५ बजे। के हो यो २९ भनेको ? २९ पनि बज्छ कहीँ। सोधखोज हुँदा तर्क गरियो- २९ पनि बज्दो रहेछ। कसरी ?

सामान्यतया बिहानको हो कि रातिको छुट्याउनका लागि १२ बजिसकेपछि १ नबजाई १३ बजाउने गरिन्छ। यही क्रमले २१, २२, २३ (अर्थात् रातिको ९, १० र ११) बजिसकेपछि कति बज्छ? घडीहरुमा 00 बनाइन्छ। लेख्दा २४ पनि लेख्ने चलन छ।

त्यसपछिको अर्को घण्टा भने ०१ बज्छ। त्यसैले २५ बज्दैन सामान्यतया।

तर पञ्चाङ्ग निर्णायक समितिले भने ज्योतिष विज्ञानमा २४ भन्दा माथि पनि समय हुने तर्क गरे। सूर्य उदय नभएसम्म त्यही दिन रहने तर्क रहेछ उनीहरुको।

त्यसैले आज अर्थात् भदौ ३१ गते घडीले मध्यरात १२ बजेसम्म मात्र हुने र १२ बजेर १ मिनेट जाँदादेखि असोज १ गते लाग्ने भए पनि ज्योतिष विज्ञान अनुसार सूर्य बिहान ५ बजेर ५० मिनेटमा नउदाएसम्म त्यही दिन रहने रहेछ।

साइत निस्केको रहेछ २९ बजेर ३५ मिनेट। अर्थात् २५ लाई १ मानेर जाने हो भने बिहान ५ बजेर ३५ मिनेट।

खासमा यःसिं ढाल्नका लागि धरणी नक्षत्र चाहिने रहेछ। तर भदौ ३१ गतेको रात अश्विनी नक्षत्र हुन्छ। नक्षत्र नमिलेकोले यसपटक बिहानको साइत जुरेको हो।

नभए सामान्यतया राति नै यःसिं ढाल्ने गरिन्छ। ढालिसकेपछि त्यहाँ भेला भएका मानिसहरु परालले हानाहान गरेर खेल्छन् पनि।