काठमाडौं । सरकारले भीभीआईपी र विदेश पाहुनाका लागि डेढ अर्बमा विशेष सुविधासहितको हेलिकप्टर खरिद गरेको छ । अन्तराष्टिय समिनारमा छिमेकी देशका अति विशिष्ट पाहुनाहरु नेपाल आउने गर्दछन् । ति पाहुनालाई एक ठाउँबाट अर्काे ठाउँमा लिन नेपाली सेनाको हेलिकप्टरको सहयोग लिनुपर्ने बाध्यता थियो ।

नेपाल सरकारसँग आफ्नो कुनैपनि हवाई साधन छैन । सरकारलाई आवश्यक पर्ने हवाई साधनहरु पछिल्लो समय खरिद हुन थालेका छन् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीका लागि विशेष हेलिकप्टर प्रयोगमा आउने भएको छ । सरकारले इटालीको अगुस्ता वेस्टल्यान्डसँग हेलिकप्टर सम्झौता गरेको छ । आगमी मंसिरभित्र नेपाल आउने गरी सम्झौता गरिएको उच्च स्रोतले जानकारी दिएको छ ।

अधिकतम १५ सिट क्षमता र लगातार पाँच घन्टासम्म उडाउन भर्न सकिने हेलिकप्टरको मुल्य डेढ अर्ब पर्ने भएको छ । विशेष हेलिकप्टर उडानका लागि नागरिक उड्ड्यन प्राधिकरणले एक जना निरिक्षक पाइलट र नेपाली सेनाले तीन पाइलट ‘टाइप कनभर्जन’ प्रशिक्षणका लागि इटाली र अमेरिका पठाएको छ । चार पाइलटले अहिले प्रशिक्षण लिइरहेका छन् । डेढ महिना प्रशिक्षण सकिएपछि उनीहरुले परिक्षण उडान मलेसियामा गर्ने भएका छन् ।

अगुस्ता वेस्टल्यान्ड कम्पनीबाट एक बर्षअघि एउटा हेलिकप्टर नेपाल ल्याइएको थियो । जनु अहिले विपद् व्यवस्थापन र सेनाको काममा प्रयोग भइरहेको छ । अब आउने विशेष हेलिकप्टर नागरिक उड्यन प्राधिकरणका नाममा दर्ता भएपनि रेखदेख भने नेपाली सेनाले नै गर्ने छ । भीआईपी र भीभीआईपीका लागि नेपाली सेनासँग चार हेलिकप्टर छन् । दुई हेलिकप्टर बेचिएको छ भने एउटा विग्रिएको अबस्थामा छ ।