काठमाडौं । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार स्थानीय तहमा लैजाने प्रणाली स्थापना गरेको जनतालाई बोझ थप्न नभएको भन्दै जनतामा भएको बोझलाई हल्का गर्न र जनतालाई सेवा प्रदान गर्नका लागि भएको बताएका छन । सबैले कर उठाएर करको भार जनताको थाप्लोमा थोपर्ने विल्कुल उद्देश्य नभएको उनकाे भनाई थियो । उनले भने-हामीले त जनतालाई घरदैलोमा नै सेवा दिने भनेका हौं । हामीले रोपेको एउटा, अर्कै उर्मेला जस्तो भएको छ । उनले करकाे भारले जनतालाइ मार पर्ने बताए।

उनले कम्युनिष्टहरुको एकतालाई निर्वाचन मार्फत नेपाली जनताले दिलैदेखि गरेको स्वागत र अनुमोदनको योगदानलाई अवमूल्यन गरे ठूलो दुर्भाग्य हुने बताए । उनले भने-नेपाली जनताले हामीलाई शक्तिशाली सरकारको ठाउँमा ल्याई पुर्याइदियो । हामी असफल भयौं भने नेपाल राष्ट्र असफल हुन्छ । राष्ट्र असफल भयो भने हामी सबैको आत्मसम्मान समाप्त हुने खतरा हुन्छ ।

अध्यक्ष दाहालले भने-सबै प्रगतिशील,सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कामहरुलाई अगाडि बढाउने अवसर नेपालमा फेरि प्राप्त हुन्छ कि हुन्न । यो भन्दा राम्रो अवसर हुनै सक्दैन ।