समाचार अलि बासी भए पनि कुरो अनौठो छ।मंगलबारदेखि नै सोसल मिडियामा एउटा खबर र त्यससँगै फोटो पनि भाइरल भयो। भनियको थियो- सिन्धुपाल्चोक चौतारा साँगाचोक गढि न. पा. वडा १३ अर्चले गाउँको महादेबथान छेउको खेतमा रहेको पोखरीमा बिहान बाँदरहरुले सामूहिक आत्महत्या गरे।

अचम्म।

बाँदरहरुको सामूहिक आत्महत्या?

कतिपयले यसलाई हावा खबर भन्ठानेर उडाए पनि। तर बुधबार भने कान्तिपुर अनलाइनमै समाचार आयो। शीर्षक थियो- पोखरीमा हाम फालेर १६ बाँदर मरे। 

भाइरल खबर र कान्तिपुरमा आएको खबरमा खासै फरक थिएन। फेसबुकमा भाइरल खबरमा भनिएको थियो-

अर्चले गाउँका समाजसेवी क्षेत्र ब. दुलालको भनाई अनुसार उहाँ एकाबिहानै माहाँकाल नजिकै धानखेतमा पानी लगाउन गएको बेलामा एक्कासी बाँदरहरु कराएको आवाज आयो। अनि त्यहाँ पुगेर हेर्दा त बाँदरहरुको बथानमा लगातार २५ वटाले हामफालिसकेका थिए र अरु हाम्फाल्ने कोसिस गरिरहेका थिए। नजिकैका खेतमा काम गर्ने कुस्माखर दुलाल लगायत सबै मानिसहरुलाई बोलाई हुल बथानलाई लखेटे। पोखरीमा पसेका २५ वटा मध्ये ९ वटाको उद्दार गरे। १६ वटा मरिसकेका रहेछन्। घटना भएको ठाँउमा पुगेर हेर्दा पोखरी सिमेन्टको प्लास्टर भएको र पोखरीमा आधा पोखरी मात्र पानी रहेको र मरेका बाँदर देखिन्छन्।

कान्तिपुरको खबरमा पनि यी दुईलाई उद्‍धृत गरिएको छ-

‘म धान खेतमा पानी थुन्न गएको थिएँ,’ उनले भने, ‘सधैंभन्दा अलि फरक तरिकाले बाँदरहरू चिच्याएको सुनेर पोखरीमा हेर्न पुगेँ।’ आफूले देख्दादेख्दै पनि डुबेकालाई बचाउने शैलीमा बाँदरहरू लगालग पानीमा हाम फाल्न थालेपछि होहल्ला गरेर गाउँले बोलाएको उनले बताए।

क्षेत्रबहादुरको आवाज सुनेर आएका छिमेकी कुश्माखर दुलाल पनि सुरुमा त छक्क परे। त्यसपछि जम्मा भएका गाउलेले पोखरीमा हाम फाल्न ठिक्क परेका बाँदरको हुल धपाए। डुबेर छटपटाइरहेकालाई बाहिर निकाले।

‘यो के अनर्थ हुन लागेको भनेर सुरुमा त हामी अचम्ममा पर्‍यौं,’ स्थानीय कुलप्रसाद दाहालले भने, ‘९ वटालाई बचाउन सकियो। १६ वटा मरेछन्। अरुलाई धपाउन पनि गाह्रै भयो।’ घटनाले गाउँलेलाई अचम्मित पार्नुका साथै दु:खी बनाएको उनले बताए। ‘गाउँले मिलेर बाँसले बाँदर निकालेका हौं,’ उनले भने, ‘पोखरी बर्खाले आधाआधी भरिएको छ।’ गाउँलेले तत्कालै प्रहरीलाई घटनाको जानकारी गराएको उनले बताए।

कान्तिपुरमा बाँदर विशेषज्ञ मुकेश चालिसेलाई उद्‍धृत गरिएको छ। ‘बाँदर पानीमा मज्जाले पौडन सक्छ। पोखरीमा कुनै खानेकुरा लिने होडमा यो भएको हुनसक्छ,’ उनले भनेका छन्, ‘या पोखरीमा करेन्ट लगाइएको हुनसक्छ। त्यत्तिकै बाँदरले हाम फाल्दैनन्।’ यसरी बाँदरले सामूहिक रुपमा हाम फालेको कुरा पहिलोपटक सुनेको उनले समाचारमा बताएका छन्।

बाँदरको आत्महत्या भने विश्वमा धेरै अघि नै समाचार बन्न थालेको थियो।