काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको प्रक्रिया अब करिबकरिब निष्कर्षमा पुगिसकेको बताएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठानले मंगलबार राजधानीमा आयोजना गरेको ‘४१औँ पुष्पलाल स्मृति दिवस’मा आयोजित कार्यक्रममा उनले एकता प्रक्रिया साउनभित्र सकिने जिकिर गरे । ‘एक–दुईवटा औपचारिकता दिन मात्र बाँकी रहेको छ । केही दिनभित्र हामी सबै पार्टी एकता टुंग्याउँछौँ,’ उनले भने, ‘हाम्रो लक्ष्य यही साउन महिनाभित्र पार्टी एकताका बाँकी रहेका काम पनि टुंग्याउने हो, स्थायी कमिटी तथा केन्द्रीय कमिटीको बैठक पनि बस्नेछौँ ।’ उनले केन्द्रीय कमिटी बैठकबाट देशव्यापी रूपमा कार्यक्रम बनाएर जनतासमक्षसमेत जाने बताए ।

सो अवसरमा उनले अध्यक्ष दाहालले पुष्पलालले देखेको सपना आफूहरूले पार्टी एकता गर्दै जनवादी क्रान्ति मौलिक ढंगले पूरा गरेको धारणा राखे । पुष्पलाल नै विभाजित पार्टीलाई एकताबद्ध गर्नुपर्दछ भनेर ०२५ मा गोरखपुर सम्मेलनमार्फत एउटा झन्डा उठाएकोसमेत उनले उल्लेख गरे । नेता दाहालले पुष्पलालको मानसिक सन्तति आफूहरू भएको उल्लेख गर्दै समाजवादको यात्रा पनि उहाँकै सपनाअनुसार पूरा गरिने दृढता व्यक्त गरे ।

‘विभाजन भएको पार्टीलाई फेरि एकताबद्ध र आन्दोलित गर्ने, दीर्घकालीन सशस्त्र संघर्षमार्फत जनवादी क्रान्ति रणनीति अगाडि बढाउने अनि पञ्चायतका शक्तिसँग मिलेर जाने पहलको नेतृत्व पनि पुष्पलालले नै गर्नुभएको हो,’ उनले भने, ‘त्यसैले हामी सबै पुष्पलालकै सन्तति र उत्तराधिकारी हाँै ।’ उनले पुष्पलालले देखेको समाजवाद तथा समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पूरा गर्न पार्टीलाई विचार र राजनीतिका आधारमा, सांगठनिक मूल्यमान्यताका आधारमा, विधि र प्रक्रियाको आधारमा जनतासँगको सम्बन्धको आधारमा सुदृढ गर्दै जानुपर्ने धारणा राखे ।

‘हामी पहिलो पार्टी भएपछि सबै चिज ठीकठाक हुन्छ भन्ने जे विश्वास थियो त्यसमा उठेका यदाकदाका प्रश्नको जवाफ हामीले एकता प्रक्रिया टुंग्याएर, पार्टीलाई सक्रिय बनाएर, जनतालाई परिचालन गरेर गर्नुपर्दछ,’ दाहालले भने । आफूभित्र देखापरेका कमजोरीलाई सच्याएर संकल्प गर्नु नै पुष्पलाललाई सम्झनुको अर्को बाटो रहेको बताउँदै दाहालले भने, ‘अबको बाटो हामीभित्र देखिएको कमीकमजोरी सच्याउने पनि हो । आफैँलाई धोइपखाली सफा गर्ने कुरा पनि हो । त्यस अर्थमा यो दिवसको औचित्य हुन्छ ।’

कार्यक्रममा नेकपाका वरिष्ठ नेता तथा प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले नेकपालाई लोकप्रिय बनाएर स्थापित गर्न सके मात्र पुष्पलालको सपना साकार हुने बताए । पार्टीको केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तह पार्टीको मार्ग निर्देशनअनुसार चल्नुपर्ने तथा पार्टीमा राम्रो काम गर्ने व्यक्तिलाई प्रोत्साहनसमेत गर्नुपर्ने उनको भनाइ थियो । उनले छिट्टै पोलिटब्युरो गठन तथा विभागीय र जनवर्गीय संगठनको जिम्मेवारी बाँडफाँट गरिने बताए ।

वरिष्ठ नेता नेपालले अहिले मुलुकमा झन्डै दुईतिहाइको कम्युनिस्टको सरकार भएकाले यस अवसरलाई सदुपयोग गर्नुपर्ने उल्लेख गरे । ‘अहिले सरकार सञ्चालनको अभूतपूर्व अवसर छ । यो अवसरलाई खेर जान दिनुहुँदैन,’ नेता नेपालले भने, ‘खेर जान दियो भने फेरि अवसर जनताले दिन्छन् कि दिँदैनन् ।’ उनले पुष्पलाल जन्मेको ठाउँ रामेछापको भँगेरीमा पुष्पलाल संग्र्रहालय र उद्यान स्थापना गरिनेसमेत जानकारी दिए । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पुष्पलालले देखाएको बाटामा हिँडे मात्र मुलुक समृद्धि हुने बताउँदै समाजवादको मार्गरेखा कोरिएकाले अबको कम्युनिस्ट सरकारले मुलुकमा समाजवाद ल्याउनुपर्ने उल्लेख गरे ।

वि.सं. १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालको निधन ०३५ साल साउन ७ गते आजैका दिन भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा भएको थियो । नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ उनले साथीहरूको सहयोगमा वि.सं. २००६ वैशाख १० गते नेकपा स्थापना गरेका थिए ।