जागरण अभियान समीक्षामा देउवाले भने –‘कमजोरी सच्याएर अभियान थप प्रभाबकारी बनाऊँ’

काठमाडौँ, १२ असार । नेपाली काङ्ग्रेसले जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया जारी राखेको छ। पार्टीले बुधबारदेखि शुरु गरेको जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँगको छलफल तथा अन्तरक्रिया आज बिहान ८ बजेबाट पुनः शुरु गरेको हो।

बुधबार मात्र २६ प्रतिनिधिले छलफल तथा अन्तरक्रियामा भाग लिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। काङ्ग्रेसले वैशाख २५ देखि जेठ २५ सम्म देशभर सञ्चालन गरेको ‘हिमाल, पहाड, तराई–मधेस नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियान’मा खटिएका केन्द्रीय प्रतिनिधिसँग छलफल गरेको हो।

बैठकमा पार्टीको संरचना तल्लो तहसम्म लैजानुपर्ने, पार्टीभित्रको आन्तरिक विवाद तत्काल टुङ्ग्याउनुपर्ने, सरकारको गलत क्रियाकलापलाई जनतासम्म लैजानुपर्नेलगायतका विषयमा कुरा उठेको पार्टीबाट केन्द्रीय प्रतिनिधिका रूपमा धनकुटा खटिएका नेता दीपक खड्काले जानकारी दिए। छलफल तथा अन्तरक्रियामा केन्द्रीय प्रतिनिधिले जागरण अभियानका क्रममा जिल्लाका नेता तथा कार्यकर्ताले दिएको राय सुझावलाई सभापति, पदाधिकारी तथा पूर्व पदाधिकारीसमक्ष राखेका छन्।

छलफलमा सभापति शेरबहादुर देउवाले जागरण कार्यक्रमले पार्टीका कार्यकर्तामात्र नभई आम मानिसमा नयाँ उर्जा थपेको धारणा व्यक्त गरे।

सभापति देउवाले गाउँ–गाउँसम्म पुगेर पार्टीको विचार सम्प्रेषण गर्ने सबै केन्द्रीय प्रतिनिधिलाई धन्यवाद दिए। उनले जागरण अभियानका क्रममा प्राप्त सुझाव ग्रहण गरेर पार्टीलाई सुदृढ र थप गतिशील बनाउँदै अघि बढ्ने उनले प्रतिबद्धता जनाए। सभापति देउवाले पहिलो चरणको अभियानमा भएका कमी कमजारी सच्याएर दोस्रो र तेस्रो चरणको अभियान अझै प्रभावकारी बनाइने उल्लेख गरे।

अभियानका क्रममा काङ्ग्रेसले एक महिनासम्म सबै जिल्ला, क्षेत्र, गाउँ–नगर र वडास्तरमा दुई हजार बढी बैठक, भेला, सभा, र्‍याली, विचार–बहसलगायत कार्यक्रम गरेको थियो। छलफल तथा अन्तरक्रियामा उठेका विचारलाई असार २२ देखि शुरु हुने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा छलफलमा लैजाने काङ्ग्रेसले जनाएको छ। काङ्ग्रेसले दोस्रो चरणको जागरण अभियान आगामी भदौ २४ देखि असोज ७ गतेसम्म र तेस्रो चरणको जागरण अभियान पुस ७ देखि १६ सम्म सञ्चालन गर्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×